नयाँदिल्ली, २१ वैशाख । भारतीय रेलसेवाले लकडाउनका बेला पनि चल्नेगरी “श्रमिक विशेष रेलसेवा” संचालनमा ल्याउन विशेष निर्देशिका जारी गरेको छ । विशेष गरेर कामदारहरु आवतजावत गर्न पाउने र उनीहरुलाई सम्बन्धित ठाउँमा पु¥याउने उद्देश्यले श्रमिक विशेष रेलसेवा शुरु गर्न लागिएको हो ।
यो विशेष रेलसेवाबाट कामदार, तिर्थयात्री, पर्यटक, विद्यार्थी र अन्यत्र जान नपाएर अलपत्र परेकाहरुलाई सेवा दिइने भएको छ । प्रदेश सरकारको प्रशासनको सिफारिसका आधारमा प्रदेशस्तरका रेलसेवा मात्रै सञ्चालन हुने अधिकारीहरुले जनाएका छन् । तर उनीहरुका लागि निर्देशिका भने केन्द्रीय सरकारले नै जारी गरेको छ ।
केन्द्रीय रेल मन्त्रालयले केही सर्त र मापदण्डहरु समेत उल्लेख गरेर निर्देशिका जारी गरेको समाचारमा जनाइएको छ ।हरेक यात्रुले अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, बढीमा १२ घण्टाको मात्रै यात्रा गर्न पाइने, एक छाक खाना रेलसेवाले नै उपलब्ध गराउने निर्देशिकामा उल्लेख गरिएको छ ।
त्यसैगरी हरेक यात्रुलाई प्रदेश सरकारले नै जिम्मा लिनु पर्नेे, प्रदेशले नै उनीहरुलाई आवश्यकता र अवस्था अनुसार स्वास्थ्य परीक्षण गर्नु पर्ने, क्वारेन्टाइन र बाँकी यात्राको व्यवस्था गर्नु पर्नेेछ । रेल तथा रेल स्टेशनहरुमा सामाजिक दुरीलगायतका स्वास्थ्य सतर्कता पूर्ण रुपमा अपनाउनु पर्ने शर्त पनि राखिएको छ ।
भारतमा सरकारले मे ३ अर्थात आइतबारदेखि सकिन लागेको लकडाउनको अवधि फेरि लम्ब्याएर यही मे १७ सम्म पु¥याएको छ । अहिले मे ४ देखि लागू हुने गरी थप दुई साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय शुक्रबार गरिएको हो । भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो ।
कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न भन्दै लकडाउन घोषणा गर्ने ठूला देशहरुमध्ये भारत अग्रस्थानमा पर्दछ । भारतमा घोषणा गरिएको लकडाउनलाई सबैभन्दा ठूलो र सबैभन्दा लामो अवधिको लकडाउन भनिएको छ ।