याउन्डे, २० फागुन । अफ्रिकी मुलुक क्यामरूनको पश्चिमी अङ्ग्रेजी भाषी क्षेत्रमा दश जना पृथकतावादी आतंकवादीहरु मारिएको क्यामरुन सरकारले जनाएको छ । सैनिक कारबाहीमा ती आङ्कवादीहरु मारिएको बताए पनि केही अनलाइनले मारिने व्यक्तिहरु सर्वसाधारण रहेको बताएका छन् ।
बहुसंख्यक फ्रान्सेली भाषी क्यामरुनका दुई अङ्ग्रेजी भाषी प्रान्तहरुमा सशस्त्र पृथकतावादी आन्दोलन सन् २०१७ देखि जारी छ ।
सञ्चार मन्त्री रेनी इमानुएल साडीले सोमबार जारी गर्नु भएको विज्ञप्तिमा “जनरल फायरम्यान” भनेर चिनिने पृथकतावादी कमान्डर पनि मारिएको उल्लेख छ ।
सप्ताहान्तदेखि अनलाइन मिडिया र सामाजिक सञ्जालमा सैनिक कारबाहीमा स्थानीय महिला र बालबालिकासहित १० जना निहत्था सर्वसाधारणको मृत्यु भएको बताएका छन् ।
सरकारले भने अनलाइनले झुटा समाचार प्रशारित गरेको बताउँदै सेनामाथि लगाइएका आरोपहरु “पूर्ण निराधार, यथार्थको विपरीत“ रहेको जनाएको छ ।
दुई पक्षबीचको लडाइँ र प्रतिशोधपूर्वक नागरिकहरूमाथिको हमलाले तीन वर्षे द्वन्द्वका क्रममा दुई पश्चिमी क्षेत्रमा ३,००० भन्दा बढीको मृत्यु भइसकेको छ ।
ह्युमन राइट्स वाचले पनि क्यामरूनको सेनाले उत्तर पश्चिम क्षेत्रको दुर्गम क्षेत्रमा फेब्रुअरी १४ मा कम्तिमा २१ जना सर्वसाधारणको हत्या गरेको आरोप लगाएको छ । सेनाले उक्त आरोपलाई अस्वीकार गरेको छ ।