११ आश्विन २०८१, शुक्रबार

‘नोवल कोरोना’ संक्रमितको उपचारमा संलग्न डाक्टरसहित ५६ जनाको मृत्यू


नोवल कोरोना भाइरस

काठमाडौं । चीनमा कोरोना भाइरसले महामारीको रूप लिएको छ । संक्रमितको उपचारमा संलग्न डाक्टरसहित ५६ को ज्यान गएको छ । शनिबार मात्रै १५ जनाको मृत्यु भएको छ । मृतक सबै हुपेई प्रान्तको वुहान सहरका हुन् । देशभर १३ सयभन्दा बढी संक्रमित छन् । शनिबार भेटिएका एक सय ८० बिरामीमध्ये ७७ वुहानकै छन् । तीमध्ये केहीको अवस्था गम्भीर छ ।

एक करोड १० लाख जनसंख्या रहेको वुहानमै गत महिना पहिलोपटक कोरोनाको संक्रमण देखिएको थियो । अहिले विश्वभर फैलिँदै छ । चीनले कोरोना नियन्त्रण गर्न व्यापक सतर्कता अपनाएको छ । नयाँ वर्षका धेरै कार्यक्रम रद्द भएका छन् । वुहानसँग जोडिएका १४ सहरमा आवतजावत नै बन्द गरिएको छ । वुहानमा सम्पूर्ण बस, मेट्रो, रेल र फेरी सेवा स्थगित गरिएका छन् भने त्यहाँबाट उड्ने विमान सेवा पनि रद्द गरिएको छ ।

वुहानमा कोरोना संक्रमितको उपचारका लागि मात्रै विशेष अस्पताल बनाउन सुरु गरिएको छ । २५ हजार वर्गमटिर क्षेत्रफलमा निर्माण भइरहेको एक हजार शय्याको अस्पताल ६ दिनमा तयार हुनेछ । निर्माणमा ४५ डोजर प्रयोग गरिएका छन् । नयाँ अस्पतालले मेडिकल स्रोतसाधनको विद्यमान समस्यालाई समाधान गर्ने चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २००३ मा सार्स भाइरस संक्रमणका वेला पनि बेइजिङमा एक सातामा एउटा अस्पताल निर्माण भएको थियो । ग्रेटवालको केही अंशलगायत बेइजिङको महत्वपूर्ण पर्यटकीय क्षेत्र बन्द छन् । देशका अन्य भागमा हुन लागेका महत्वपूर्ण कार्यक्रम पनि रद्द गरिएका छन् । सांघाईको डिज्नी रिसोर्ट अस्थायी रूपमा बन्द छ भने पाँच सहरमा म्याक डोनाल्ड रेस्टुरेन्टका शाखा बन्द छन् । नयाँ पत्रिका दैनिकमा समाचार छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !