११ असार २०८१, मंगलबार

लिबियामा १४ हजार विकास परियोजना स्थगित


Nepalpatra

त्रिपोली, १८ असार । लिबियाका अर्थमन्त्री अलि अल–इसावीले लिबियामा सन् २०११ देखि करिब एक खर्ब ४० अर्ब डलर बराबरका १४ हजार विकास परियोजना स्थगित भएको बताउनुभएको छ ।

राजधानीमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री अल–इसावीले स्वीकृत परियोजनामध्ये आधा वा एक तिहाई मात्र पनि कार्यान्वयनमा आएका भए त्यसबाट राजनीतिक, आर्थिक तथा सामाजिक परिवर्तनमा ठूलो योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले सरकारी फौज र पूर्वी क्षेत्रमा सक्रिय सेनाबीच राजधानी त्रिपोलीलाई केन्द्रित गरी भइरहेको युद्धले मुलुकको आर्थिक परिस्थितिमा सुधार ल्याउने कार्यक्रमलाई भ्रमित पारिरहेको बताउनुभयो ।

मन्त्री अल–इसावीले भन्नुभयो, युद्ध समाप्त भएपछि त्रिपोलीको पुनर्निर्माण र विकासमा युद्धस्तरमा जुट्नुको विकल्प छैन ।

लिबियाको पूर्वी क्षेत्रमा सक्रिय विद्रोही पक्षले त्रिपोलीलाई नियन्त्रणमा लिन गत अप्रिलदेखि संघर्षलाई तिब्र बनाएको छ । यस युद्धबाट सयौंको ज्यान गइसकेको छ भने हजारौं घाइते भएका छन् । युद्ध भडकिएसँगै दशौं हजार मानिस सुरक्षाको खोजीमा घर त्यागेर पलायन हुन बाध्य भएका छन् ।

सन् २०११ मा लिबियाली नेता मउमर गद्दाफीको शासन पतन भएसँगै लिबियामा हिंसाका घटना बढ्नुका साथै राजनीतिक अस्थिरता चरम अवस्थामा पुगेको छ । (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !