जिनान, १२ जेठ । चीनको शानदोङ प्रान्तको लोङयान बन्दरगाहमा शनिबार एउटा सामान बोक्ने पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिएका कारण दश जनाको मृत्यु भएको छ ।
स्थानीय अधिकारीहरुका अनुसार फुजियान सिपिङ कम्पनीको जहाज मर्मतका क्रममा ग्यास चुहिएको हो । उक्त दुर्घटनामा अरु १९ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको र उनीहरुको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
ग्यास चुहिएको सम्बन्धमा जिम्मेवार केही व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ । उक्त घटनाका बारेमा अनुसन्धान थालिएको स्थानीय अधिकारीहरुले बताएका छन् । (रासस/सिन्ह्वा)