१७ असार २०८१, सोमबार

फ्रान्सले चीनको हुवावेका गतिविधि रोक्दैन : म्याक्रोँ


Flag France

पेरिस, ३ जेठ । फ्रान्सले विश्व प्रसिद्ध चिनियाँ टेलिकम कम्पनी हुवावेलाई फ्रान्सको राष्ट्रिय सुरक्षालाई सुरक्षित राख्दै फाइभ–जी नेटवर्क संरचना निर्माण गर्न दिने फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले बताउनुभएको छ ।

पेरिसमा प्रबिधिसम्बन्धी एक सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो,“हाम्रो उद्देश्य हुवावे वा अन्य कुनै कम्पनीलाई गतिविधि विस्तारमा रोक लगाउने होइन । हाम्रो राष्ट्रिय सुरक्षा र यूरोपेली सार्वभौमसत्ता जोगाउने प्रयास रहनेछ तर मेरो विचारमा प्रबिधि वा व्यापार युद्ध सही होइन ।”

राष्ट्रपति म्याक्रोँले भिभा टेक नामक प्रबिधि सम्मेलनमा सम्बोधनका क्रममा बताउनुभयो, “पहिलो कुरा कसैको राष्ट्रिय सुरक्षाको पक्षमा कुनै प्रविधिको विस्तार नै रोक्ने तरिका ठीक होइन । हामीलाई यो आवश्यक छैन । दोस्रो आफ्नै प्रविधिको विकास तथा विश्व सहकार्यले तनावलाई कम गर्न सकिन्छ ।”

फ्रान्स र यूरोपको ‘व्यवहारिक तथा वास्तविक धारणा’को पक्षपोषण गर्दै फ्रान्सका राष्ट्रपतिले भन्नुभयो, ”फ्रान्सले रोजगारी सिर्जनाका लागि सहकार्य र बहुपक्षीयतामा विश्वास गर्ने र यसबाट व्यापार विस्तार र नयाँ प्रबिधिको आविस्कार गर्ने कुरामा विश्वास गर्छ ।”

उहाँले भन्नुभयो, “यस्तै फाइभ जीका सन्दर्भमा पनि हामीले विशेष ध्यानसहित विदेशी प्रबिधि र नेटवर्कको विस्तारलाई स्वागत गर्छौँ । तर यसो गर्दा राष्ट्रिय सुरक्षा पहिलो शर्त हुनेछ ।” (रासस/सिन्ह्वा)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !