५ मंसिर २०८१, बुधबार

अमेरिका–तालिबान वार्ता बुधबारदेखि हुँदैछ : तालिबान


अमेरिकी

काबुल, १८ बैशाख । अफगानिस्तानमा युद्धरत तालिबान विद्रोही र अमेरिकी प्रतिनिधिहरुबीच नयाँ चरणको शान्तिवार्ता बुधबारदेखि कतारमा हुँदैछ । तालिबानीका एक अधिकारीले वार्तामा अफगानिस्तानको शान्ति प्रक्रियाका बारेमा छलफल हुने बताउनुभयो ।

हालैका महिनाहरुमा दुबै पक्षबीच छ चरणको वार्ता भइसकेको छ । तालिबान प्रवक्ता जबिउल्लाह मुजाहिदले नयाँ चरणको वार्ता कतारको दोहामा बुधबारदेखि हुने जानकारी दिनुभयो ।

काबुलस्थित अमेरिकी राजदूताबासले उक्त वार्ताका बारेमा कुनै टिप्पणी गरेको छैन । तर अमेरिकी विदेश मन्त्रालयले यसअघि नै अफगानिस्तानका लागि विशेषदूत जाल्मे खलिलजाद यसै महिना तालिबानसँग भेटघाट गर्न जानुहुने बताइसकेको छ ।

अफगानिस्तानका लागि पूर्व अमेरिकी राजदूत समेत रहिसकेका खलिलजादले अफगान शान्तिप्रक्रियालाई निष्कर्षमा पु¥याउन पहल गरिरहनुभएको छ ।

आइतबार वासिङ्टन डिसीमा कुरा गर्दै खलिलजादले अफगान युद्धमा वार्षिक ४५ अर्ब अमेरिकी डलर खर्च भइरहेको जानकारी दिनुभयो । अमेरिकी करदाताको यत्रो रकम सैनिक प्रयोजनमा खर्च गरिरहनु ठीक होइन, उहाँले भन्नुभयो । सन् २००१ देखि यतामात्र अमेरिकी नेतृत्वमा अफगानिस्तानमा भइरहेको युद्धमा दुई हजार ४०० अमेरिकी सैनिकको ज्यान गइसकेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानमा तैनाथ अमेरिकी सैनिक जतिसक्दो चाँडो स्वदेश फर्काउने घोषणा यसअघि नै गरिसक्नुभएको छ । अफगानिस्तानमा हाल करिब १४ हजार अमेरिकी सेना तैनाथ छन् । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !