१४ आश्विन २०८१, सोमबार

एनआरएको अध्यक्षबाट ओलिभर नर्थको राजीनामा


अमेरिकी

१५ बैशाख, इन्डियानापोलिस । अवकाशप्राप्त अमेरिकी कर्नेल ओलिभर नर्थले अमेरिकी राष्ट्रिय राइफल एसोसिएसन (एनआरए) बाट शनिबार राजीनामा दिनुभएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक मानिने यस संस्थाभित्र चरम आर्थिक अनियमितताको आरोप लागेपछि ओलिभरले राजीनामा दिनुभएको हो ।

एनआरएको इन्डियानापोलिसमा आयोजित वार्षिक बैठकमा ओलिभरले राजीनामा बुझाउनुभएको थियो । उहाँले आफू एनआरएको अध्यक्षमा दोस्रो कार्यकालका लागि उम्मेदवार नहुने स्पष्ट गर्नुभएको छ ।

एनआरएका प्रमुख कार्यकारी वायने लापियरले आफूलाई पदबाट हटाउने मनशायले गलत सूचना सार्वजनिक गर्ने ओलिभरले धम्की दिएको कुरा सार्वजनिक भएसँगै ओलिभरले राजीनामा दिनुभएको थियो । यससम्बन्धी एक पत्र लापियरले एनआरएको बोर्डमा समेत प्रस्तुत गर्नुभएको छ । उक्त पत्र अमेरिकी अखबार वालस्ट्रिट जर्नलले शुक्रबार प्रकाशन गरिसकेको छ ।

एनआरएका अधिकारीहरुले यस बारेमा कुनै प्रतिक्रिया दिएका छैनन् ।

न्यूयोर्क टाइम्सले पनि न्यूयोर्क महान्यायाधीवक्ता लेटिटिया जेम्सले यस समूहको करका बारेमा अनुसन्धान गर्न लागेको बताएको छ ।

एनआरएका अध्यक्ष ७५ वर्षीय ओलिभर नर्थ मे २०१८ मा अध्यक्षमा चुनिनु भएको थियो । यो संस्थामा ५० लाखभन्दा बढी सदस्य छन् । यो संयुक्तराज्य अमेरिकामा बन्दुकका बारेमा निर्णय गर्ने सर्वाधिक शक्तिशाली र निकै बलियो सञ्जाल भएको संस्था पनि हो । (रासस/एपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !