२५ चैत, इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानको कार्यालयमा आगलागी भएको छ । उहाँको सचिवालयमा सोमबार दिउसो भएको आगलागीमा परी कुनै मानवीय क्षति र कोही घाइते भने नभएको अधिकारीहरुले जनाएका छन् ।
संसद भवन नजिकै रहेको उच्च सुरक्षा घेराभित्रको भवनको तेस्रो तलाको शौचालयमा आगलागी भएको प्रधानमन्त्रीका सल्लाहकार यौसाफ बैघ मिर्जाले बताउनुभयो । कार्यालयमा आगलागी भएको बेला प्रधानमन्त्री खान कार्यालयमै एउटा बैठकको अध्यक्षता गरिरहनु भएको सल्लाहकार मिर्जाले जानकारी दिनुभयो ।
आगलागी भएको थाहा पाउने वित्तिकै अग्नीनियन्त्रक र उद्धारकर्ताहरुले कार्यालयमा रहेका प्रधानमन्त्री खानसहित सवैलाई तत्काल कार्यालय बाहिर निकालेका थिए । विद्युत सर्ट भएर आगलागी भएको अधिकारीहरुले जनाएका छन् । आगो तत्कालै नियन्त्रणमा लिइएको थियो । (रासस/सिन्ह्वा)