१५ असार २०८१, शनिबार

क्युबामा नयाँ संविधानका बारेमा जनमतसङ्ग्रह


Nepalpatra

१३ फागुनह, वाना । संयुक्तराज्य अमेरिकाको निरन्तरको दबाब एवं भेनेजुएलाको समाजवादी सरकारलाई समर्थन गरेका कारण समस्यामा परेको क्युबामा नयाँ संविधानका लागि आइतबार जनमतसङ्ग्रह भएको छ ।

चुनावको परिणाम आइतबार प्राप्त हुने अपेक्षा गरिएको छ । “हामी क्युबालीले नयाँ संविधान, दक्षिण अमेरिका र क्यारेबियन क्षेत्रमा उदाहरण प्रस्तुत गर्नका लागि मतदान गर्दैछौं,” राष्ट्रपति मिगेल डायाज–कनेलले मतदानका क्रममा बताउनुभयो ।

“हामी भेनेजुएलाका लागि पनि मतदान गर्दैछौं, हामी भेनेजुएलाको पक्षमा छौं किनभने भेनेजुएलामा यस महादेशकै सबैभन्दा ठूलो नाटक मञ्चन भइरहेको छ ।”

राष्ट्रपति डायाजले चिली, कोलम्बिया र पाराग्वेका राष्ट्रपतिहरुले भेनेजुएलाका विपक्षी नेता हुँवा गुएइदोको समर्थन गरेकाप्रति पनि आक्रोश पोख्नुभयो । “कोलम्बियाको सीमामा केही राष्ट्रपतिहरु छन्, र तिनीहरु हासोका पात्रजस्ता देखिएका छन् ।”

क्युबाले भेनेजुएलाका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउने प्रयास गरिरहेको छ । क्युबाले अमेरिकी सैनिक अतिक्रमणको विरोध गरिरहेको छ ।

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले भेनेजुएलाको सीमामा ल्याइएको मानवीय सहायतालाई आफ्नो देशविरुद्धको अमेरिकी कदमको संज्ञा दिनुभएको छ । यस्तो सहायता अधिकांश अमेरिकाबाटै भेनेजुएला सीमामा पु¥याइएको छ ।

क्युबाली अधिकारीहरुले करिब ८० प्रतिशतले मतदान गरेको बताएका छन् ।

सत्तारुढ कम्युनिष्ट पार्टीका प्रथम सचिवको शक्तिशाली पदमा आसिन पूर्व राष्ट्रपति राउल क्यास्ट्रोले पनि बिहानै मतदान गर्नुभएको थियो ।

अमेरिकी सिनेटर मार्को रुबियोले क्युबाको तथाकथित जनमतसङ्ग्रह सत्तामा आफ्नो पकड अझ बलियो बनाउने कुत्सित मनसायबाट गरिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

सन् १९७६ को संविधानलाई प्रतिस्थापन गर्ने नयाँ संविधानले पनि स्वतन्त्र बजार र निजी लगानीलाई सीमित गर्नेछ । यी दुबै कार्यहरु कम्युनिष्ट पार्टीले मात्र सञ्चालन गर्न पाउनेछ ।

साथै, संविधानले समाजवाद मुलुकको एकमात्र विचारधारा हुने परिकल्पना गरेको छ । यो धारणामाथि क्याथोलिक चर्चले आपत्ति जनाएको छ ।

क्युबाका प्रतिबन्धित विपक्षीहरुले भने यसपटक मतदान बहिस्कार गरेका थिए ।

यस जनमतसङ्ग्रहमा दुईवटा विकल्प मात्र दिइएको थियोः नयाँ संविधानको पक्ष वा विपक्ष अर्थात् हुन्छ वा हुन्न । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !