१२ असार २०८१, बुधबार

क्यानाडेली नागरिक रिहा गर्न राष्ट्रपतिलाई पत्र


si jinping

८ माघ, बेइजिङ । करिब सय जना पूर्व कूटनीतिज्ञ तथा प्राज्ञले चीनमा थुनामा रहेका क्यानाडेली नागरिकलाई रिहा गर्न आग्रह गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङलाई पत्र लेखेका छन् ।

चीन सरकारले दुई क्यानाडेली नागरिकलाई चीन विरुद्ध गुप्तचरी गरेको आरोपमा गिरफ्तार गरेको छ । चीन सरकारले चिनियाँ राज्यको सुरक्षाका विरुद्धमा सूचना चुहाएको भन्दै उनीहरुलाई थुनामा राखेको हो ।

चिनियाँ सरकारको नियन्त्रणमा रहेकामा क्यानाडेली पूर्व कूटनीतिज्ञ माइकेल कोभरिग र व्यापारी माइकल स्पाभोर रहेका छन् । उनीहरुलाई गत डिसेम्बर १० मा चीनमा पक्राउ गरिएको थियो ।

उनीहरुलाई हुवावेका प्रमुख वित्तीय अधिकृत मेङ वान्झाउलाई अमेरिकाको अनुरोधमा क्यानाडामा गरिएको पक्राउको बदलास्वरुप पक्राउ गरिएको अनुमान गरिएको छ ।

इरानमाथि अमेरिकाले लगाएको नाकाबन्दीको हुवावेले उल्लङ्घन गरेको आरोप अमेरिकाले लगाएको छ । तर सो आरोप हुवावेले अस्वीकार गरिरहेको छ ।

अङ्ग्रेजी र चिनियाँ भाषामा लेखिएको उक्त पत्रमा हाल चीनको थुनामा रहेका ती दुई जना क्यानाडेली नागरिकले चीनको बारेमा थप अध्ययन गरी अरु विश्वसँगको सम्बन्धमा थप सहयोग पुर्याएको बताइएको छ ।

उक्त पत्रमा विश्वका १९ देशका १४३ जना पूर्व कूटनीतिज्ञ र प्राज्ञहरु रहेका छन् । उनीहरुले सो पत्रमा हाल थुनामा राखिएका ती दुई जना क्यानाडेली नागरिकले रचनात्मक कार्य गर्दागर्दै पनि पक्राउ परेकाले अब चीनमा बसेर यस्तै काम गर्न पनि जोखिम रहेको भन्ने सन्देश दिएको जनाइएको छ ।

गत महिना भएको वान्झाउको पक्राउ पछि चीन र क्यानाडाको सम्बन्धमा ठूलो तनाव उत्पन्न भएको छ । यस्तै तनावकैबीच थप दुई क्यानाडेली नागरिक चीनमा पक्राउ परेका छन् । यसरी यी दुई देशबीच कूटनीतिक सम्बन्धमा दरार उत्पन्न भएको समयमा यो पत्र सार्वजनिक भएको छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !