२३ भाद्र २०८१, आइतबार

राष्ट्रसङ्घीय साधारणसभाको ७३ औँ अधिवेशन आरम्भ


United-Nations

३ असोज, काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको साधारणसभाको ७३ औँ अधिवेशन बुधबार न्यूयोर्कमा आरम्भ भएको छ । अधिवेशन शुरु गर्दै यस वर्षको साधारणसभाका अध्यक्ष मारिया फर्नान्डा एस्पिनोसा गार्सेसले अझ बढी समान, स्वतन्त्र, दिगो, सम्मानपूर्ण, समावेशी तथा सहयोगी विश्व निर्माण गर्न आह्वान गर्नुभयो ।

जुन महिनामा सभाका अध्यक्ष निर्वाचित हुँदा इक्वेडोरका कूटनीतिज्ञ गार्सेसले यस वर्ष ‘संयुक्त राष्ट्रसङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ छलफलको मूल विषय रहेको बताउनुभएको थियो । उहाँ यस महासभाका लागि चौथो महिला सभाध्यक्ष तथा ल्याटिन अमेरिकी तथा क्यारिबियन क्षेत्रबाट प्रथम महिला सभाध्यक्ष हुनुहुन्छ ।

उहाँले चालु अधिवेशनमा लैङ्गिक समानता प्रवद्र्धन, आप्रवासी तथा शरणार्थीका लागि विश्वव्यापी सहमति, राम्रो कामका लागि वकालत, वातावरण संरक्षण, अशक्त अवस्था भएका व्यक्तिको अधिकारमा ध्यानाकर्षण, राष्ट्र सङ्घको सुधार प्रक्रिया तथा वार्तामा सहयोगका क्षेत्रलाई प्राथमिकता दिइने बताउनुभयो ।

अधिवेशनको आरम्भमा राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले शान्ति स्थापना, लैङ्गिक समानता, कार्यसूची ३० को खर्च, युवा सबलीकरण, गरीबी तथा द्वन्द्व अन्त्य गर्न जोड दिइने बताउनुभयो ।

साधारणसभाले आउँदो सोमबार (२४ सेप्टेम्बर) ‘नेल्सन मण्डेला शान्ति शिखरबैठक’ का रूपमा उच्चस्तरीय पूर्ण बैठक आयोजना गर्नेछ । सो बैठक दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको सम्मानमा समर्पित हुनेछ । बैठकमा सदस्य राष्ट्र सहमत भएको राजनीतिक घोषणापत्र पारित हुने यूनन्यूजले जनाएको छ ।

आउँदो बुधबार (२६ सेप्टेम्बर) साधारणसभाले क्षयरोगविरुद्ध सङ्घर्षका विषयमा उच्चस्तरीय बैठक आयोजना गर्नेछ । बिहीबार (२७ सेप्टेम्बर) असङ्क्रमणीय रोग प्रतिरोध तथा नियन्त्रणमा भएका प्रगतिका विषयमा छलफल गर्न उच्चस्तरीय बैठक आयोजना हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामा सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !