२० पुस २०८१, शनिबार

बेजोसले परोपकारी कार्यका लागि छुट्याए दुई अर्ब डलर


Bezos

२९ भदौ, वासिङ्टन । विश्वकै सर्वाधिक धनाढ्य एवं अमेजनका संस्थापक जेफ बेजोसले घरबारविहीन परिवार एवं न्यून आय भएका समुदायका बालबालिकाको शिक्षाका लागि दुई अर्ब डलरको परोपकारी कोष निर्माण गर्ने घोषणा गर्नुभएको छ ।

बेजोसले गत वर्ष नै परोपकारी कार्यक्रमका सम्बन्धमा ट्वीट गरी सुझाव माग गर्नुभएको थियो । उहाँसँग व्यक्तिगत १६० अर्ब अमेरिकी डलरको सम्पत्ति रहेको अनुमान गरिएको छ ।

बेजोस र उहाँकी श्रीमती म्याकेन्जीले निर्माण गर्नुभएको उक्त कोषको नाम “बेजोस डे वान फन्ड” राखिएको छ । बिहीबार पत्रकार सम्मेलन गरी बेजोसले मुख्यतः दुईवटा क्षेत्रमा कोषले कार्य गर्ने जानकारी दिनुभयोः “पहिलो, घरबारविहीन परिवारलाई मद्दत गर्नु, र दोस्रो, न्यून आय भएका परिवारका क्षेत्रमा कार्यरत नयाँ, गैरनाफामूलक सञ्जाललाई बालबालिकालाई विद्यालयमा भर्नाका लागि सहयोग गर्नु ।”

बेजोसले दुई अर्ब डलर केबल सुरुआत भएको र यसमा रकम बढाउँदै लैजाने बताउनुभयो । “मैले सानो प्रयत्नबाट पनि ठूलो काम भएको पाएको छु र यस्तो देख्दा म उत्साहित भएको छु । मेरो कोषले पनि त्यही अपेक्षा राखेको छ ।”

घरबारविहीनका सन्दर्भमा कोषले अति जरुरीमा परेका परिवारका लागि मिहिनेतसाथ दिनरात काम गरिरहेका संस्थाहरुलाई सहयोग गर्ने बेजोसले बताउनुभयो । उहाँले स्कुल जान नपाएका साना बालबच्चाका लागि पूर्ण छात्रवृत्ति सहितको सुविधा उपलब्ध गराउन कोषले एक वृहत सञ्जालमार्फत काम गर्ने स्पष्ट गर्नुभयो ।

अमेजनको कार्यशैली झैं प्रत्येक बालबालिका स्कुलको एउटा ग्राहक हुनेछ, बेजोसले भन्नुभयो ।

बेजोसले गत वर्ष ट्वीटरमार्फत गरिएको अनुरोध बमोजिम प्राप्त हजारौं नवीन धारणाहरुमध्येबाट यी दुई क्षेत्र पहिचान गर्नुभएको हो ।

सन् १९९४ मा अनलाइन पुस्तक बिक्रीबाट सुरु गरेको बेजोसको अमेजन कम्पनीले अहिले विश्वव्यापी प्रभाव सिर्जना गरेको छ । यो कम्पनीले अहिले भिडियो र म्युजिक स्ट्रिमिङका साथै क्लाउड कम्प्युटिङ र अरु नयाँनयाँ सेवा थप गरेको छ ।  (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !