११ असार २०८१, मंगलबार

अमेरिकी विदेशमन्त्री पोम्पेओ पाकिस्तान भ्रमणमा


Mike-pomeo

२० भदौ, इस्लामाबाद । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खानसँग भेटघाट गर्न अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ बुधबार इस्लामाबाद आइपुग्नुभएको छ । हालैका महिनामा चिस्सिएको दुवै देशबीचको सम्बन्धलाई नयाँ गति दिने पोम्पेओको भ्रमणको मुख्य उद्देश्य रहेको छ ।

वासिङटनले ३० करोड अमेरिकी डलरको अमेरिकी सैन्य सहायता रोक्ने निर्णयको पुष्टी गरेको भोलिपल्टै विदेशमन्त्री पोम्पेओ पाकिस्तान आउनुभएको हो ।

अमेरिकी उच्च कूटनीतिज्ञ पोम्पेओले इस्लामाबाद आएलगत्तै सङ्क्षिप्त प्रतिक्रिया दिँदै भन्नुभयो, “दुई देशबीचको सम्बन्धलाई नयाँ ढङ्गबाट अगाडि बढाउने भ्रमणको मूल उद्देश्य हो ।” अफगानिस्तानमा जारी द्वन्द्वमा पाकिस्तानले पर्याप्त सहयोग नगरेको बरु उल्टै अफगान लडाकूलाई हतियार र आश्रय दिएको अमेरिकी आरोप छ ।

“हो, हामीबीच धेरै किसिमका चुनौती छन्, तर पाकिस्तानको नयाँ नेतृत्वसँग नयाँ समझदारी बन्ने र हाम्रा साझा मुद्दामा मिलेर काम गर्न सकिने हाम्रो विश्वास छ,” उहाँले भन्नुभयो ।

विदेशमन्त्री पोम्पेओले पाकिस्तानको भ्रमणपछि भारतको भ्रमण गर्नु हुनेछ । भारतमा रहँदा अमेरिकी रक्षामन्त्री जीम म्याटिस पनि साथमा रहनु हुनेछ । भारतमा प्रतिरक्षा र व्यापारका विविध विषयमा छलफल हुने बताइएको छ । (रासस/एएफपी)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !