२९ माघ २०८२, बिहीबार

भेनेजुएलाका राष्ट्रपति मादुरोलाई ‘पक्राउ’ गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी


भेनेजुएलाका राष्ट्रपति मादुरोलाई ‘पक्राउ’ गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

एजेन्सी, वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेको दाबी गरेका छन् । ट्रम्पले भेनेजुएलाको राजधानी काराकारमा आक्रमणपछि मादुरोलाई पक्राउ गरिएको दाबी गरेका हुन् ।

मादुरोलाई कहाँ लगिएको छ भन्नेबारे ट्रम्पले स्पष्ट नपारे पनि भेनेजुएला सरकारले आफ्ना नागरिकहरूलाई यो ‘आक्रमण’ विरुद्ध सडकमा उत्रन र राष्ट्रिय रक्षा योजना लागू गर्न आह्वान गरेको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलामाथि ठूलो स्तरको सैन्य हमला गरिएको समेत बताए ।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक सन्देश लेख्दै ट्रम्पले अमेरिकी सुरक्षा निकायको सहयोगमा गरिएको विशेष अपरेशनका क्रममा मादुरो र उनकी पत्नीलाई पक्राउ गरी देश बाहिर लगिएको उल्लेख गरेका छन्।

यसबारे थप जानकारी दिन उनले फ्लोरिडास्थित मार–ए–लागोमा पत्रकार सम्मेलन गर्ने समेत बताएका छन्। यसअघि भेनेजुएलाको राजधानी काराकास र वरपरका क्षेत्रमा शनिबार बिहानैदेखि भीषण विस्फोट र कम उचाइमा उडेका विमानहरूको आवाज सुनिएको थियो।

भेनेजुएलाको राजधानी काराकासमा भएको विष्फोटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले उक्त आक्रमण अमेरिकाले गरेको बताएका छन् । राजधानी कारकासमा भएको आक्रमणपछि राष्ट्रपति मादुरोले देशमा राष्ट्रिय संकटकालको घोषणा गरेका थिए । उनले एक बयानमा अमेरिकी सैन्य आक्रमणको निन्दा गरेका थिए ।

भेनेजुएला सरकारले विज्ञप्ति जारी गर्दै अमेरिकाले आफ्नो भूभागमा ‘गम्भीर सैन्य आक्रामकता’ देखाएको र काराकाससहितका विभिन्न राज्यमा हमला गरेको पुष्टि गरेको छ। भेनेजुएलाले यसलाई देशको तेल र खनिज स्रोत कब्जा गर्ने उद्देश्यले गरिएको साम्राज्यवादी आक्रमणको संज्ञा दिएको छ।

अमेरिकाले लामो समयदेखि मादुरोमाथि अन्तर्राष्ट्रिय लागुऔषध तस्करी सङ्गठनको नेतृत्व गरेको आरोप लगाउँदै आएको थियो। हालै मात्र अमेरिकाले मादुरोको पक्राउका लागि ५ करोड डलरको पुरस्कार घोषणा गरेको थियो भने क्यारिबियन क्षेत्रमा ठूलो सङ्ख्यामा अमेरिकी सेना परिचालन गरिएको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !