काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर भएकी छन् । बंगालदेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरेको हो ।
गत वर्ष विद्यार्थी–नेतृत्वमा भएको विद्रोहमाथि उनले घातक दमनकारी कारबाही गर्न आदेश दिएको आरोपमा महिनौँसम्म चलेको मुद्दाको फैसला आज सोमबार सुनाइएको हो । गत वर्षको विद्यार्थी नेतृत्वको व्यापक विद्रोहमा सयौँ मानिसको हत्या गरी १५ वर्ष लामो शासन अन्त्य गरेको आरोपमा उनी भारतमा निर्वासित अवस्थामा रहेकी छन् ।
न्यायाधिकरण अदालतले मानवताविरुद्धको अपराधको मुद्दामा प्रस्तुत सबै प्रमाण ‘वास्तविक देखिने’ भनेको छ । अदालतले प्रमाणका रूपमा प्रस्तुत भिडियो, तस्बिर र अडियोहरूलाई परिवर्तन नगरिएको वा एआईद्वारा नबनाइएको स्पष्ट पारेको छ ।
हसिनामाथि गाइएका पाँच आरोपहरुमा गत वर्ष विद्यार्थी आन्दोलनका क्रममा ढाकामा ठूलो संख्यामा प्रदर्शनकारीको सामूहिक हत्या गराएको, भीडमाथि गोली चलाउन हेलिकोप्टर र ड्रोनको प्रयोग गर्न आदेश दिएको, एक विद्यार्थी कार्यकर्ताको हत्या, प्रमाण नष्ट गर्ने उद्देश्यले शवहरू जलाएको वा नष्ट गरेको जस्ता मानवताविरुद्धको अपराधको आरोप गाइएको थियो ।
संयुक्त राष्ट्रसङ्घको फेब्रुअरी रिपोर्टअनुसार घटनामा एक हजार ४०० जनासम्मको मृत्यु भएको उल्लेख छ भने अन्तरिम सरकारले आठ सयभन्दा बढी व्यक्तिको मृत्यु र झण्डै १४ हजार घाइते भएको पुष्टि गरेको छ । फैसलाअघि मोहम्मद युनुस नेतृत्वको अन्तरिम सरकारले बढ्दो तनावलाई ध्यानमा राख्दै ढाका र छिमेकी क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको थियो ।












