काठमाडौं । थाइल्यान्ड र कम्बोडियाबीच युद्धविरामको सहमति भएको छ । थाइल्यान्ड र कम्बोडियाबीच आज सोमबार युद्धविरामको सहमति भएको हो ।
पाँचदिने युद्धपछि सोमबार बिनासर्त युद्धविरामको सहमति भएको हो । मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले सोमबार मध्यरातदेखि दुई देश तत्काल र बिनासर्त युद्धविराम गर्न सहमत भएको जानकारी दिएका छन् ।
मलेसियाको प्रशासनिक राजधानी पुत्रजयामा थाई कार्यवाहक प्रधानमन्त्री फुमथम वेचायाचाई र कम्बोडियाका प्रधानमन्त्री हन मानेत साथमा राखेर आयोजित पत्रकार सम्मेलनमा इब्राहिमले युद्धविराममा सहमति भएको जानकारी दिएका हुन् ।
थाइल्यान्ड र कम्बोडियाको जङ्गलले घेरिएको सीमानामा पाँच दिनको लडाइँपछि युद्धविराम खोज्दै दुवै मुलुकका नेताहरूले सोमबार मलेसियामा शान्ति वार्ता सुरु गरेका थिए ।
लामो समयदेखि विवादित क्षेत्रमा भएको युद्धमा दुई पक्षले तोप, रकेट र बन्दुक प्रहार गर्दा दुई लाखभन्दा बढी मानिस भागेका छन् । विवादित क्षेत्रमा प्राचीन मन्दिरहरूको समूह छ ।
सन् १९०७ मा कम्बोडियाको फ्रान्सेली औपनिवेशिक प्रशासकहरूले गरेको अस्पष्ट सीमाङ्कनका कारण दुवै पक्षले दावी गरेको इलाकामा सन् २००८ देखि सन् २०११ मा भएको हिंसापछिको यो सबैभन्दा घातक घटना हो ।
वार्ता सुरु हुनुभन्दा केही घण्टाअघि तनावपूर्ण सीमानाबाट १७ किलोमिटर (१० माइल) टाढा कम्बोडियाली सहर सामाराङमा एक एएफपी पत्रकारले एक मिनेटमा १० वटासम्म विस्फोटको निरन्तर आवाज सुनेको रिपोर्ट गरे ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सप्ताहन्तमा हस्तक्षेप गरे र दुवै पक्षले ‘छिट्टै समाधान गर्न’ सहमत भएको बताए । ट्रम्पसामु दुवै राष्ट्रले भारी भन्सार शुल्कको खतराबाट बच्न व्यापारिक सम्झौताका लागि अनुरोध गरिरहेका छन् ।
थाइल्यान्डले आफ्ना आठ सैनिक र १४ सर्वसाधारणको मृत्यु भएको बताएको छ भने कम्बोडियाले आठ सर्वसाधारण र पाँच सैनिकको मृत्यु भएको पुष्टि गरेको छ ।
थाई सेनाले लडाइँमा मारिएका १२ कम्बोडियाली सैनिकको शव फिर्ता गरेको बताएको छ । एक लाख ३८ हजारभन्दा बढी मानिस थाइल्यान्डको सीमावर्ती क्षेत्रहरूबाट भागेका छन् भने करिब ८० हजारलाई कम्बोडियामा आफ्नो घरबाट विस्थापित गरिएको छ ।












