२१ असार, दमासकस । दक्षिणी सिरियाली क्षेत्रमा जारी रहेको द्वन्द्वका क्रममा करिब ३ लाख मानिस विस्थापित भएको समाचार छ ।
यस क्षेत्रबाट विस्थापित हुनेहरूको सङ्ख्या बढ्दै गएको बताइएको छ । दुई हप्तायतादेखि सो क्षेत्रमा द्वन्द्व झन बढेको बताइएको छ ।
संयुक्त राष्ट्रसंघीय निकायले बिहीबार दिएको जानकारी अनुसार सिरियाको प्राय दक्षिणी क्षेत्र द्वन्द्वले आक्रान्त बनेको छ । जसका कारण सो क्षेत्रमा आतङ्ककारीहरुको पनि घुसपैठ भइरहेको छ ।
यसअघि विगत लामो मसयदेखि यहाँका विद्रोहीहरूको नियन्त्रणमा रहेको दक्षिणी सिरियाको डारा प्रान्तमा सरकारी सुरक्षाकर्मीहरूले केही हप्ताअघि कारबाही थालेका थिए ।
त्यहाँ आक्रमण गरेपछि द्वन्द्व फेरि बल्झिएको हो । सो क्षेत्रमा लामो समयदेखि विद्रोहीको धरपकड रहेको अधिकारीहरुले बताएका थिए ।
“दक्षिणी सिरियामा भएको द्वन्द्वका कारण विस्थापित हुनेहरूको सङ्ख्या झण्डै तीन लाख पुगेको अनुमान गरिएको छ,” सिरियास्थित राष्ट्रसंघीय निकाय युएनएचसीआरका प्रवक्ता मोहम्मद हवारीले भन्नुभयो ।
झण्डै दुई हप्तादेखि भइरहेको क्रुरतापूर्वक हवाई तथा स्थलगत कारबाहीबाट स्थानीय बासिन्दा निकै त्रसित भएका छन् । (रासस/एएफपी)