काठमाडौं । चीनको स्वायत्त क्षेत्र तिब्बत प्रान्तको दिङ्गे काउन्टीमा केन्द्रबिन्दु भएर आज बिहान गएको भूकम्पमा मृत्यु हुनेको संख्या ३६ जना पुगेको छ । आज बिहान गएको ६.८ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको संख्या ३६ जना पुगेको चिनियाँ समाचार संस्था सीजीटीएनले जानकारी दिएको हो ।
यस्तै पिपल्स डेली अनलाइनका अनुसार बेइजिङ समयअनुसार बिहान ९ बजेर ५ मिनेट जाँदा सिजाङ अटोनोमस रिजनको डिंग्री काउन्टी केन्द्रबिन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।
नेपालको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ७ म्याग्निच्युडको धक्का मापन गरिएको जानकारी गराएको छ । केन्द्रका अनुसार, तिब्बतको दिंगी आसपास केन्द्रविन्दु भएर बिहान ६ बजेर ५० मिनेट (नेपाली समय) मा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ । भूकम्पको काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुङ्गा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, सङ्खुवासभा, ताप्लेजुङ लगायत जिल्लामा महसुस गरिएको थियो ।
भूकम्पको धक्का महसुस भएपछि सर्वसाधारण घरबाहिर खुला स्थानमा निस्किएका थिए । केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताए ।