३१ भाद्र २०८१, सोमबार

भारतीय विदेश सचिव मिश्री आज नेपाल आउँदै


विक्रम मिश्री

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदै छन् । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणका लागि उनी नेपाल आउन लागेका हुन् ।

सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् । सचिव मिस्रीको यो परिचयात्मक भ्रमण हुने बताइएको छ ।

जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिश्रीले हालै भुटानको भ्रमण गरेका थिए । भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ गर्ने र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगै परराष्ट्र मन्त्री आरजु राणा देउवा र समकक्षी सेवा लम्सालसँग पनि भेटघाट गर्नेछन् । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गर्ने कार्यक्रम छ ।

आजै साँझ होटेल मेरियटमा हुने रात्रिभोज कार्यक्रममा विदेश सचिव मिश्रले सबै राजनितिक दलका दोस्रो तहका नेताहरूसँग भेटघाट गर्नेछन् । सोमबार भारत फर्किनु अघि सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

विनयमोहन क्वात्राले अवकाश पाएपछि गत जुलाई १५ मा मिस्री विदेश सचिव बनेका थिए । सचिव मिस्री चीन मामिलाको जानकार मानिन्छन् । विदेश सचिव मिश्री साउन २८ मा भारत फर्किने कार्यक्रम तय भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !