२८ जेठ, सिङ्गापुर । सिङ्गापुरका प्रधानमन्त्री लि हसिन लोङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार भेटवार्ता गर्नुभएको छ ।
उहाँहरुबीच सोमबार बिहान सिङ्गापुरका राष्ट्रपतिको कार्यालयमा भेटवार्ता भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जानकारी दिएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार नै सिङ्गपुर पुग्नुभएको छ ।
मंगलबार बिहान उहाँहरुबीच बहुप्रतिक्षित शिखर वार्ता हुनलागेको छ । सो भेटवार्ता यहाँको स्थानीय समयानुसार बिहान ९ बजे हुने कार्यक्रम रहेको छ ।
विश्वकै लागि सर्वाधिक चासोका रुपमा रहेको एक बहुप्रतिक्षित शिखर वार्ताका लागि आइतबार नै यी दुबै नेता सिङ्गापुर पुग्नुभएको समाचारमा जनाइएको छ ।
सिङ्गापुरका प्रधानमन्त्री र अमेरिकी राष्ट्रपतिबीचको सोमबार भएको यस वार्तामा पनि मंगलबार शुरु हुन लागेको उक्त शिखर वार्ताकै बारेमा कुराकानी भएको बताइएको छ । (रासस/सिन्ह्वा)