१ माघ २०८१, मंगलबार

ट्रम्प पक्राउ परेका र पुटिनलाई जेल हालिएका झूटा तस्बिर सामाजिक सञ्जालमा छापछापति


डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिन

न्युयोर्क । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गरिएका तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कारागारमा हालिएका झूटा तस्बिरले सामाजिक सञ्जाल भरिएका छन् ।

केही दिनदेखि सञ्जालमा छापछापति भएका ती तस्बिर उपकरण अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ औजार प्रयोग गरेर बनाइएका हुन् । पूर्वराष्ट्रपति ट्रम्प स्वयम्ले यो साताको प्रारम्भमा आफू पक्राउ पर्नसक्ने बताएपछि उहाँलाई सुरक्षाकर्मीले घेरेर नियन्त्रणमा लिएका तस्बिरले सामाजिक सञ्जाल भरिएका हुन् ।

नेदरल्याण्डस्को हेगस्थित अन्तरराष्ट्रिय फौजदारी अदालतले युक्रेन युद्धमा मानवताविरुद्ध अपराधमा दोषी ठहर गर्दै राष्ट्रपति पुटिनलाई पक्राउ गर्न पूर्जी जारी गरेपछि उनलाई कारागारमा हालिएका अवास्तविक तस्बिर र भिडियो सामाजिक सञ्जालमा ‘अपलोड’ गरिएका हुन् ।

नक्कली तस्बिर, भिडियो र गलत सूचना प्रवाहले समाजमा नकारात्मक प्रवृत्तिलाई प्रश्रय दिने गलत सूचनासम्बन्धी जानकारहरूले बताएका छन् । काल्पनिक विषयले तथ्यलाई दबाउनु असामाजिक कार्य भएको उनीहरूले टिप्पणी गरेका छन् ।

मिथ्या समाचार र तस्बिरले सङ्कटका बेला थप आपत निम्त्याउने तथा निन्दनीयताको स्तर बढाउने सियाटलस्थित वासिङ्टन विश्वविद्यालयका प्राध्यापक जेभिन वेस्ट बताउछन् । मिथ्या तस्बिर र समाचारले दर्शक तथा पाठकको ध्यान ती सामग्रीमा नै केन्द्रित गर्ने र त्यसले वास्तविकता छोपिने उनको तर्क छ । उनका अनुसार यस्ता गतिविधिले प्रणालीप्रतिको विश्वास गुम्नेछ । उपकरण प्रयोग गरेर बनाइएका तस्बिर यथार्थवादी भए पनि दर्शकले आफ्नो विवेक गुमाउन नहुने उनी बताउछन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !