७ बैशाख २०८१, शुक्रबार

रुसी क्षेप्यास्त्र पोल्याण्डमा खस्दा दुई जनाको मृत्यु


रुसी क्षेप्यास्त्र पोल्याण्डमा खस्दा

वार्सा । पोल्याण्डले रुसमा निर्मित क्षेप्यास्त्र देशको पूर्वी भागमा खसेको तथा त्यसबाट आफ्ना दुई जना नागरिक मारिएका बताएको छ । क्षेप्यास्त्र खसेसँगै रुस–पोल्याण्डबीच आरोपप्रत्यारोप पनि शुरु भएको छ ।

उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) को सदस्य पोल्याण्डमाथि नियतवश आफ्नो भूमिमा आक्रमण भएको वार्साले आरोप लगाएको छ भने मस्कोले त्यसको खण्डन गरेको छ । युक्रेनी राष्ट्रपति भोलोडिमर जेलेन्स्कीले घटनाको निन्दा गरेका छन् । इण्डोनेसियाको बालीमा क्षेप्यास्त्र प्रहारको विषयलाई लिएर नाटोको आपत्कालीन बैठक भएको छ ।

बैठकमा राष्ट्रपति बाइडेन, बेलाइतका प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँ र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोेन डेयर उपस्थित थिए । उन्नत अर्थतन्त्र भएका प्रमुख विकसित देश अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, जापान, बेलाइत र इटाली सम्मिलित अन्तर्राष्ट्रिय अन्तरसरकारी आर्थिक सङ्गठन जी सेवेनको बैठक पनि भएको छ ।

इण्डोनेसियाको बालीमा जारी विश्वका प्रमुख विकसित एवम् उदीयमान अर्थतन्त्रहरूलाई जोड्ने रणनीतिक बहुपक्षीय मञ्च जी ट्वेन्टीको शिखर बैठकमा पनि उक्त घटनाबारे विश्वनेताले चिन्ता व्यक्त गरेका छन् । प्रारम्भिक विवरणअनुसार रुसको नियोजित आक्रमण हो वा होइन भन्नेबारेमा पोल्याण्डले अनुसन्धान थालेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले क्षेप्यास्त्र रुसबाट प्रहार नभएको हुनसक्ने बताएका छन् ।

अन्नपात सुकाइरहेका गाउँलेमाथि क्षेप्यास्त्र खसेको पोल्याण्डका सुरक्षा अधिकारीहरूले बताएका छन् । जी सेभेनले क्षेप्यास्त्र आक्रमाणको निन्दा गरेको छ । एक वक्तव्य निकालेर समूहले आक्रमणलाई बर्बर भनेको छ । पोल्याण्डको अनुसन्धानप्रति आफ्नो पूर्ण समर्थन रहेको तथा सहयोग गर्न तत्पर रहेको बताएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले पनि पोल्याण्डमा क्षेप्यास्त्र खसेको घटनाबाट आफू चिन्तित रहेको बताउँदै त्यसको विस्तृत अनुसन्धानका लागि आह्वान गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !