११ पुस २०८१, बिहीबार

चीनको बढ्दो प्रभाव रोक्न फ्रान्स–अष्ट्रेलियाबीच साँठगाठ


Emmanuel Macron, Christophe Penot

एजेन्सी, १९ वैशाख । फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोन आज पहिलोपटक अष्ट्रेलियाको भ्रमणमा सिड्नी पुग्नुभएको छ ।

राष्ट्रपति म्याक्रोन सैनिक तथा नौसेनाका ठेकेदारहरुको दलबलसहित सिड्नी पुग्नुभएको हो । राष्ट्रपति म्याक्रोन तथा अष्ट्रेलियाका प्रधानमन्त्री म्याल्कम टर्नबुलबीच व्यापार, सुरक्षा, रणनीतिक मुद्दाहरु तथा अष्ट्रेलियाको एडिलेडमा फ्रान्सेली व्यापारिक कम्पनी नेभल्स ग्रुपले १२ वटा पनडुब्बी जहाजहरुको बेडा बनाउने सम्झौता सम्बन्धमा केन्द्रित रहने आशा गरिएको छ ।

भेटवार्ताका क्रममा दक्षिण प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावका बारेमा पनि छलफल हुनेछ । द्वीपक्षीय वार्तामा जलवायु परिवर्तनसम्बन्धी कार्यक्रमहरुमा चीनको प्रतिवद्धता तथा युरोपियन युनियन तथा अष्ट्रेलियाबीचको स्वतन्त्र व्यापारसम्बन्धी सहमतिप्रति फ्रान्सको प्रतिरोध विशेष मुद्दा हुनसक्ने बताईएको छ ।

अष्ट्रेलिया तथा युरोपियन युनियनले यस वर्षको मध्यसम्म स्वतन्त्र व्यापारसम्बन्धी विनिमयको सुृरुवात गर्ने आशा गरिएको छ । विनिमयका लागि युरोपियन युनियनको संसदले इजाजत दिइसकेको छ भने २८ सदस्य राष्ट्रहरुको अनुमोदन प्राप्त हुन बाँकी छ । युरोपियन युनियन अष्ट्रेलियाको दोस्रो ठूलो व्यापारिक साझेदार हुनुका साथै करीब दश अरब डलरको बराबरको व्यापारसहित सर्वाधिक प्रत्यक्ष विदेशी लगानीको स्रोत पनि हो ।

राष्ट्रपति म्याक्रोनको अष्ट्रेलिया भ्रमण पहिलो हो तर उनले अष्ट्रेलियाका प्रधानमन्त्री म्याल्कम टर्नबुललाई गएको वर्ष नै पेरिसमा स्वागत गरिसकेका छन् ।
यसअघि फ्रान्सका पूर्व राष्ट्रपति फ्राँस्वाँ होल्यान्ड २०१४ मा अष्ट्रेलियाद्वारा आयोजित जी–ट्वेन्टी सम्मेलनको अगुवाई गर्न अष्ट्रेलियाको राजकीय भ्रमणमा जानुभएको थियो ।

राष्ट्रपति म्याक्रोनको सिड्नी भ्रमणपछि क्यालिडोनियामा आउने नोभेम्बरमा हुने जनमत संग्रहमा त्यो क्षेत्र फ्रान्सकै अधिनमा रहने पक्षको र्यालीमा सहभागी हुन न्यू क्यालिडोनिया जानुहुने कार्यक्रम छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !