११ पुस २०८१, बिहीबार

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा


Real Madrid

एजेन्सी, १९ वैशाख । रियल मड्रिड लगातार तेस्रो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । बायर्न म्युनिखलाई समग्रमा रियलले ४–३ गाेल अन्तरले हरायो ।

बायर्नको मैदानमा भएको पहिलो लेगमा २–१ को जित हात पारेको रियल मड्रिड दोस्रो लेगमा २–२ को बराबरीमा रोकियो । रियलाई तेस्रो पटक फाइनलमा पुर्‍याउनका लागि करिम बेन्जेमाले दुई गोल गरे ।

खेलको तेस्रो मिनेटमा नै जोसुवा किम्मिचले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । तर एघारौं मिनेटमा करिम बेन्जेमाले हेडमार्फत बललाई जाली चुमाए । पहिलो हाफमा खेल १–१ गोलको बराबरीमा सकियो ।

दोस्रो हाफको सुरुवातमा नै रियलले अग्रता लियो । बायर्नका गोलकिपर स्भेन उल्रिचको गल्तिको फाइदा उठाउँदै बेन्जेमाले ब्यक्तिगत दोस्रो गोल गर्दै रियललाई अग्रता दिलाए ।

६३ औं मिनेटमा जेम्स रोद्रिगेजले बायर्नका लागि गोल गर्दै खेल बराबरीमा पुर्याए ।

रियलबाट लोनमा बायर्न गएका रोद्रिगेजको गोलपछि पनि बायर्नले खेलमा फर्किने प्रयास गरेका थियो । कोरोटिन टोलिस्सो र थोमस मुलरको प्रहार रियल मड्रिडका गोलकिपर केलर नभासले बचाएका थिए भने म्याट ह्युलम्सको हेडर पोस्टको नजिकैबाट बाहिरियो ।

रियल मड्रिडले उपाधिका लागि लिभरपुल र रोमाबीचको विजेतासँग खेल्नेछ । बुधबार राति इंग्लिस क्लब लिभरपुल रोमाको मैदानमा खेल्दैछ । पहिलो लेगमा लिभरपुलले रोमालाई ५–२ ले हराएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !