११ पुस २०८१, बिहीबार

इतिहासको सबैभन्दा ठूलो मानव बलीको घटना सार्वजनिक


Fossils

एजेन्सी, १६ वैशाख । पेरुमा ठूलो संख्यामा बालबालिकाको बली चढाइएको घटना सार्वजनिक भएको छ ।

पेरुमा पुरातत्वविद्ले उत्खननका क्रममा भेटिएका प्रमाणअनुसार ठूलो संख्यामा बालबालिका बली दिएको हुन सक्ने ‘नेसनल जियोग्राफिक’ ले जानकारी दिएको छ ।

नेसनल जियोग्राफिकको अग्रसरतामा गरिएको यस अनुसन्धानको क्रममा करिब पाँच सय पचास वर्ष अघि पेरुको उत्तरी तटीय क्षेत्रमा एउटै समयमा १४० जना बालबालिकाको बली दिइएको पुरातत्वविद्ले बताएका छन् ।

फेला परेको प्रमाणका अनुसार बालबालिकाको यसप्रकार सबैभन्दा ठूलो संख्यामा बली दिइएको मानव इतिहासमा नै ठूलो घटनाको रुपमा लिन सकिन्छ ।

पेरुको टरुकिलियोमा त्यस्तो तथ्य फेला परेको जनाइएको छ । बालबालिकासँगै ऊँट प्रजातिको लामा भनिने दुई सयभन्दा बढी भेडाजस्ता बच्चा जनावरको बली दिइएको देखिएको पुरातत्वविद्ले जानकारी दिएका छन् ।

त्यस अनुसन्धानको लागि नेसनल जियोग्राफिक सोसाइटीको आर्थिक सहयोगबाट भएको र अनुसन्धानको नतिजा पनि पहिलो पटक नेशनल जियोग्राफिककै वेबसाइटमा प्रकाशित गरिएको समाचारमा जनाइएको छ ।

यस अनुसन्धानका प्रमुख जोन भेरानोका आफूले यस्तो अपेक्षा नगरेको र अरुले पनि यस्तो होला भनेर नसोचेको बताउनुभएको छ ।

सन् २०११ मा पहिलो पटक तीन हजार पाँच सय वर्ष पुरानो एउटा मन्दिरको उत्खननका क्रममा वान्चाकिटो लास लामास भन्ने ठाउँबाट पहिलो पटक नरबली दिइएको ४० जना पीडित र ७४ वटा लामा जनावरका बच्चाको अवशेष फेला पारिएको थियो ।

यसै हप्ता घोषणा गरिए यस समाचारका अनुसार यसप्रकार बली दिइएकाहरुमा पाँचदेखि १४ वर्षमुनिका जम्मा १४० जना बालबालिकाको रहेका छन् । प्रायः बालबालिका आठदेखि १२ वर्षबीचको भएको नेसनल जियोग्राफिकले जनाएको छ । (रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !