११ पुस २०८१, बिहीबार

बेलायती राज परिवारमा नयाँ सदस्यको आगमन


Uk Baby

एजेन्सी, ११ वैशाख । बेलायती राज परिवारमा सोमबार नयाँ सदस्यको आगमन भयो । राजुमार विलियम र राजकुमारी केटले तेस्रो सन्तानको रुपमा छोराको जन्म भएको छ । द ड्युक एण्ड डचेज अफ क्याम्ब्रिज तेस्रो सन्तानको अभिभावक बनेका हुन् ।

यसअघि पहिलो सन्तानको रुपमा राजकुमार जर्ज र दोस्रो सन्तानको रुपमा राजकुमारी सार्लेटको जन्म भएको थियो । दम्पतीको दोस्रो छोरा तथा तेस्रो सन्तानको रुपमा बेबी ब्वाइको जन्म भएको हो ।

नयाँ जन्मिएका राजकुरमा सत्ताका लागि उत्तराधिकारीको लाइनमा पाँचौँ नम्बरमा छन् । डचेज अफ क्याम्ब्रिजले सोमबार लण्डनमा रहेको लिन्डो विङ्ग अफ सेन्ट मेरीज् अस्पतालमा छोरा जन्माएकी हुन् ।
राजकुरमा जर्ज र राजकुमारी सार्लेटले अस्पतालमै गएर आफ्नो भाइलाई हेरेका थिए ।

जन्मिएको केही समयपछि ड्युक एण्ड डचेज अफ क्याम्ब्रिज नयाँ सन्तानसहित अस्पतालबाट बाहिरिएका थिए । बाहिरिने क्रममा उनीहरुले आफूहरु निकै खुशी रहेको बताए । दम्पतीले नयाँ सन्तानको नाम सार्वजनिक गरेका छैनन् । उनीहरुले अस्पतालबाट बाहिरिँदै गर्दा चाँडै नै नाम सार्वजनिक गर्ने बताए ।

राजकुरमा विलियम र क्याथरिनले नयाँ सन्तानसहित अस्पतालबाट बाहिर आएर त्यहाँ रहेका शुभचिन्तकलाई अभिवादन गरेका थिए । त्यसपछि उनीहरु गाडी चढेर केन्जिङ्गटन प्यालेस तर्फ गएका थिए ।

क्याथरिनले सेतो कल्लर भएको लुगा लगाएकी थिइन् । केहीले उनको यो ड्रेस सेन्ट जर्जको झण्डको प्रतिनिधित्व रहेको बताएका छन् । तर केहीले राजकुमारी डायनाले जस्तै क्याथरिनले पनि दोस्रो छोराको जन्ममा समान लुगा लगाएको बताएका छन् ।

राजकुमारी डायनाले सन् १९८४ मा राजकुमार ह्यारी जन्मिएपछि अस्पतालबाट बाहिरिने क्रममा रातो र सेतो ड्रेस नै लगाएकी थिइन् । राजकुमार विलियम तथा क्याथरिनका परिवारले नयाँ सदस्यको आगमनले आफूहरु उत्साहित भएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !