एजेन्सी, २८ चैत । अल्जेरियामा भएको विमान दुर्घटनामा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । राजधानी अल्जिरमा रहेको बोउफारिक विमानस्थल नजिकै सैन्य विमान दुर्घटनामा परेको हो ।
उक्त सैन्य विमानमा २०० भन्दा बढी सवार रहेको बताइएको छ । विमानमा दर्जनौंको संख्यामा सैनिक र सैन्य सामाग्री रहेको बताइएको छ । उक्त विमान स्थानीय समय अनुसार बिहान ८ बजे दुर्घटनामा परेको हो ।
प्रत्यक्षदर्शीहरूका अनुसार रनवेबाट कालो धुँवाको मुस्लो आएको थियो । विमानमा लागेको आगो निभाउन १० यन्त्रहरूको प्रयोग गरिएको थियो। त्यस्तै दर्जनौं एम्बुलेन्स विमानस्थलमा देखिएका थिए ।
विमानको भग्नावशेषबाट दर्जनौंको संख्यामा मृतकहरूलाई निकालिएको छ । विमानस्थलबाट हुने उडान र अवतरणका सेवा तत्काललाई पूर्ण रुपमा स्थगित गरिएको छ ।
आपतकालिन सेवा सुरु गरिएका छन् । उद्दार कर्ताकहरू काममा खटिएका छन् । अल्जेरियाको सेनाले स्थानीय सञ्चारमाध्यमलाई कोहीपनि जिवित हुने सम्भावना नरहेको बताएको द सनले लेखेको छ ।