१० असार २०८१, सोमबार

अष्ट्रेलियाको क्रिकेट संघले स्मिथ र वार्नरलाई एक वर्षको प्रतिबन्ध


Smith and warner

एजेन्सी, १४ चैत । बल टेम्परिङ प्रकरणमा मुछिएका तीन अष्ट्रेलियन खेलाडी स्टिभ स्मिथ, डेविड वार्नरलाई एक वर्षको प्रतिबन्ध लागेको छ ।

त्यस्तै क्यामरन बेनक्राफ्टलाई ९ महिना प्रतिबन्ध लगाइएको छ । अष्ट्रेलियाको क्रिकेट संघले यी  तीन खेलाडीमाथि प्रतिबन्ध लगाएको हो ।

क्रिकेट अष्ट्रेलियाले कारवाही स्वरुप तीन खेलाडीलाई घर फिर्ता बोलाएको छ  । तर यो प्रकरणमा संलग्न नरहेका प्रशिक्षक ड्यारेन लेम्यानलाई भने कुनै कारवाही नगरिने क्रिकेट अष्ट्रेलियाका प्रमुख कार्यकारी जेम्स सथरल्याण्डले स्पष्ट पारेका छन् ।

जोहानेसबर्गमा हुने चौथो टेस्टमा प्रतिबन्ध लागेपछि क्रिकेट अष्ट्रेलियाले तीन नयाँ खेलाडीलाई टेस्ट टिममा समावेश गर्ने भएको छ ।

‘यो घटना खेलको भावना विपरित भएको हो जुन क्रिकेट अष्ट्रेलियाका लागि खराब दिन थियो ।’ सथरल्याण्डले भने । स्मिथको कारवाहीपछि विकेटकिपर टिम पाइनेले बाँकी खेलमा कप्तानको भुमिका निर्वाह गर्नेछन् । तीन खेलाडीको स्थानमा म्याथ्यु रेन्श, ग्लेन म्याक्सवेल र जो बर्नलाई टिममा बोलाइएको छ ।

‘क्रिकेटलाई माया गर्ने सबैप्रति क्रिकेट अष्ट्रेलियाका तर्फबाट माफी माग्दछु । घटनाको सम्बन्धमा अनुसन्धान जारी छ ।’ सथरल्याण्डले थपे ।

दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्टमा क्यामरन बेनक्रफ्टले पहेँलो टेप निकालेर बललाई टेम्परिङ गराएको टिभी क्यामराले प्रत्यक्ष देखाएको थियो । यो घटनाबारे जानकार रहेका कप्तान स्मिथ र उपकप्तान वार्नरले समेत आचार संहिताको उलङ्घन गरेको ठहर क्रिकेट अष्ट्रेलियाको छ ।

सन् २०१६ मा दक्षिण अफ्रिकाका कप्तान फाफु डु प्लेसिसले पनि बल टेम्परिङ गरेका थिए । जसका कारण उनलाई पुरा म्याच फि जरिवाना गराइए पनि प्रतिबन्धबाट भने बचेका थिए । उनले मिठाई खाँदै त्यसबाट बल चम्काएका थिए ।

घटनाका बारेमा वार्नरले भनेका थिए, ‘हामी (अष्ट्रेलियन क्रिकेट टिम) यसबाट धेरै टाढा छौं । हाम्रा खेलाडीले यस्तो क्रियाकलाप गरेको भए निकै दुःखी हुने थियौं ।’

‘हाम्रो अनुशासनको रेखा हामीलाई राम्रोसँग थाहा छ । यदि उलङ्घन गरेको खण्डमा जरिवाना र टेस्ट खेल पनि गुमाउन सक्नेछौं ।’ वार्नरले भनेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !