१२ आश्विन २०८१, शनिबार

अमेरिकी विमानस्थलमा पाकिस्तानी प्रधानमन्त्रीलाई कपडा फुकाल्न लगाइयो


Pakistani Primeminister

एजेन्सी, १४ चैत ।  अमेरिका भ्रमणमा गएका पाकिस्तानी प्रधानमन्त्री शाहिद खक्कान अब्बासीको जोन एफ केनेडी अन्तराष्ट्रिय विमानस्थलमा सर्वसाधारणलाई जस्तै गरी कपडा फुकाल्न लगाइएको छ ।

सुरक्षा जाँच भन्दै पाकिस्तानी प्रधानमन्त्रीको खानतलासी लिइएको थियो । बहालवाला प्रधानमन्त्रीलाई यसरी खानतलासी गरिएको पहिलो पटक भएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

पकिस्तानी प्रधानमन्त्रीले जेएफके विमानस्थलमा कपडा खोल्दै गरेको भिडियो भाइरल भएको छ । पाकिस्तानी मिडियाले यस घटनाले पाकिस्तानको बेइज्जत भएको बताएका छन् । अमेरिकाले प्रोटोकललाई ध्यानमा नदिएको भन्दै पाकिस्तानमा अमेरिकाको कडा आलोचना भैरहेको छ ।

पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी गएको हप्ता आफ्नी बिरामी बहिनीलाई भेट्न निजी भ्रमणका रुपमा अमेरिका जानुभएको थियो । उहाँले भ्रमणकै अवसर पारेर अमेरिकी उपराष्ट्रपति माइक पेन्ससँग पनि भेट्नुभयो । पाकिस्तानी सञ्चारमाध्यमले जनाए अनुसार पाकिस्तानी प्रधानमन्त्रीको कुटनीतिक राहदानी हुने र यस्तोमा निजी भ्रमण नहुने बताएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री अमेरिका जानुभन्दा पहिले परमाणु व्यापारको आशंकामा साती पाकिस्तानी कम्पनीलाई अमेरिकामा प्रतिबन्ध लगाइएको थियो । साथै अमेरिकाले पाकिस्तानमा वर्षौँदेखि अरबौँको सहायता गरे पनि उत्पादनशील कार्यक्रममा खर्च नभएको भन्दै सहायता रकममा कटौती गर्ने जनाएको छ ।

यसअघि अमेरिकाले सन् २०११ मा भारतका पूर्व राष्ट्रपति एपीजे अब्दुल कलामलाई विमानस्थलमा जुत्ता  र ज्याकेट खोल्न लगाएको थियो । पछि यस घटनामा अमेरिकाले आफ्नो गल्ती भएको भन्दै माफी मागेको थियो ।

सन् २००१ को आतंकवादी हमलापछि अमेरिकाले मुस्लिम राष्ट्रबाट आउने नागरिकमाथि सुरक्षा व्यवस्था कडा बनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !