लन्डन । गर्मीको बिदासँगै पर्यटकको आवागमनमा भएको वृद्धिसँगै सुलभ भाडादरको आइरिस ध्वजाबहाक ¥यानइअरले पुनः नाफामा फर्किएको छ ।
उक्त विमान कम्पनीका कार्यकारी अधिकारी मिसेल ओलेरीले एएफपीलाई मंगलबार भने, “लामो समयपछि जुलाईमा कम्पनीले सामान्य सुधार गरेको छ तर अझै कम्पनीले ‘कठिन’ हिउँदको सामना गर्नुपर्ने अनुमान गरेको छ ।”
ओलेरीले लण्डनमा आयोजित एक प्रेस सम्मेलनमा भने, “हामी जुलाईदेखि फेरि नाफामा फर्किएका छौँ । हामीलाई अगस्तमा पनि सुधारको सङ्केत मिलेको छ । महामारीको सुस्ततासँगै गर्मी समयमा बढेको आवागमन हाम्रा लागि आर्थिक सुधारको एक मात्र कडी हो । तर यो सुधार कायम राख्न जाडो समयमा कठिन हुनसक्नेतर्फ हामी सजग छौँ ।”
डब्लिनमा मुख्यालय रहेको यस कम्पनीले महामारी अघिको अवस्थामा फर्किन अझै प्रयास गरिरहेको बताइएको छ । कम्पनीले विमान सेवालाई सस्तो बनाई धेरै यात्रुलाई आकर्षण गरेमा मात्र तत्कालका लागि सफलता प्राप्त हुने विश्लेषण गरेको ओलेरीले बताए ।
यो एयरलाइन्सले अगस्त र सेप्टेम्बर महिनामा महामारी पूर्वको ८० प्रतिशतसम्म व्यापार गर्ने विश्वास गरेको छ जुन नोभेम्बर र डिसेम्बरसम्ममा ९० प्रतिशत पुग्नेछ ।
यसबीच हिउँदको कारोबार बढाउन कम्पनीले लण्डन विमानस्थलबाट १४ वटा नयाँ मार्ग सञ्चालन गर्ने घोषणा ओलिरीले गरे । यसले हेलसिन्की, स्टकहोम, जाग्रेब, नेपल्स र ग्रेनोबल लगायतका गन्तव्यमा उडान सुरु उनले बताए ।