२६ पुस २०८१, शुक्रबार

अमेरिकासहित रुस, चीन र पाकिस्तानले अर्को महिना दोहामा अफगान सङ्कटबारे छलफल गर्ने


अमेरिकासहित रुस, चीन

दोहा,कतार । अमेरिका, रुस, चीन र पाकिस्तान सम्मिलित ’ट्रोइका प्लस’का प्रतिनिधिहरू आगामी महिना युद्धग्रस्त अफगानिस्तानको अवस्थाबारे छलफल गर्ने योजनासहित दोहामा बैठक गर्ने भएका छन् ।

हाल अफगानीहरूको प्रमुख लक्ष्य युद्धविराम गरी अफगानी समस्यामा पुनः वार्ता आरम्भ गर्नु रहेको निश्कर्ष उनीहरूको रहेको छ । बैठकले अफगानिस्तानको संवैधानिक सुधार र विशेष गरी छोटो दुई वर्षे कार्यकालमा आम चुनावको तयारी गर्ने कार्य योजनासहित अन्तरिम गठबन्धन सरकार गठन गर्नु रहेको ‘द एक्सप्रेस ट्रिब्यून’ले अफगानिस्तानका रूसी राजदूत जामिर काबुलोभलाई उद्धृत गर्दै समाचार लेखेको छ ।

काबुलोभले भन्नुभयो, “अफगान सरकारले एक वर्षअघि तालिबानसँग वार्ता गरेको हुनुपथ्र्याे । तालिवानी आन्दोलनले सैन्य सफलता प्राप्त गर्न नसकेपछि विद्रोहीहरू काबुलसँग संयुक्त सरकारमा सहभागी हुन तयार भइसकेका छन् । तर यसका लागि उनीहरूको अस्तित्वलाई काबुलले स्वीकार गर्नुपर्नेछ ।”

उहाँले मध्यपूर्वबाट धपाइएका अन्तर्राष्ट्रिय आतङ्ककारी संगठनहरुले अफगानिस्तानमा आफूलाई पुनः स्थापित गर्ने प्रयास गर्न सक्ने चिन्ता पनि व्यक्त गर्नुभएको छ ।

काबुलोभलाई अफगानिस्तानको स्थितिमा कुन देशको सबैभन्दा बढी प्रभाव छ भनेर पनि सोधिएको थियो । यससम्बन्धमा उहाँले भन्नुभयो, “त्यहाँ कुनै पनि राष्ट्रको एकल प्रभाब छैन यद्यपि चीन, रुस, अमेरिका र पाकिस्तानले अफगान राजनीतिमा आंशिक प्रभाब राख्ने गरेका छन् ।”

केही दिनअघि अफगानिस्तान सरकार र तालिवानले अफगानिस्तानमा शान्ति बहाली गर्ने र उच्चस्तरीय वार्तालाई निरन्तरता दिने प्रयासलाई शीघ्र अघि बढाउन सहमति जनाएका छन् ।

अफगानिस्तानमा हिंसा भड्कने क्रममा दोहामा भएको दुई दिने वार्तापछि दुई पक्षले संयुक्त वक्तव्य जारी गरेका थिए ।

तथापि, दुवै पक्षले हिंसा वा युद्धविरामको उल्लङ्घन वृद्धिबारे उल्लेख गर्न चाहेनन् । तालिबानसँग वार्तामा राष्ट्रिय मेलमिलापका लागि उच्च परिषद्का अध्यक्ष तथा अफगान वार्ताका लागि राजनीतिज्ञको सात सदस्यीय प्रतिनिधिमण्डलका प्रमुख अब्दुल्लाह अब्दुल्लाहले अफगान सरकारको दृढ इच्छा र शान्तिप्रतिको प्रतिबद्धता सहभागी नेताहरूसँग बाँड्नुभएको थियो । दुई दिनको वार्ता दुवै पक्षका लागि स्पष्ट रूपमा एक अर्कालाई आफ्नो अडान बाँड्ने राम्रो अवसर भएको उहाँले बताउनुभएको थियो ।

यसैबीच, अफगानिस्तानमा हालैका हप्ताहरूमा हिंसात्मक गतिविधिमा उल्लेख्य वृद्धि देखिएको छ । मे महिनामा विदेशी सेना देशबाट हट्न थालेदेखि तालिबान समूहले आक्रामक कदम चालेका छन् । संयुक्त राज्य अमेरिका र उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) सेनाले अगस्टको अन्त्यसम्म सैनाको फिर्ता प्रक्रियालाई पूरा गर्नेछन् ।

अफगानिस्तानमा तालिवानले धेरैभन्दा धेरै भूभाग आफ्नो नियन्त्रणमा लिइरहेको बताएको छ भने अफगान सेनाले आतङ्ककारीहरुलाई विफल पार्न प्रतिकार अभियान नै चलाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !