एजेन्सी, २ चैत । स्पेनीस क्लब एथ्लेटिको मड्रिड युरोपा लिगको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । रसियन क्लब लोकोमोटिव मस्कोलाई समग्रमा ८–१ गोल अन्तरले हराउँदै एथ्लेटिको अन्तिम आठमा प्रवेश गर्याे ।
मस्कोको घरेलु मैदानमा भएको खेलमा एथ्लेटिकोको जितमा लिभरपुल तथा चेल्सीका पूर्व स्ट्राइकर फर्नान्डो टोरेसले दुई गोल गरे । पहिलो लेगमा ३–० ले विजयी भएको दुई पटकको च्याम्पियन एथ्लेटिकोले दोस्रो लेगमा झन उत्कृष्ट प्रदर्शन गर्न सफल भयो ।
खेलको १६ औं मिनेटमा नै एञ्जल मार्टिनको गोलमा एथ्लेटिकोले अग्रता बनायो । तर २० औं मिनेटमा मस्कोले गोल गर्दै खेल बराबरीमा पुर्यायो । पहिलो हाफमा एक एक गोलको बराबरी भएको खेलको ४७ औं मिनेटमा सिउलले गोल गर्दै एथ्लेटिकोलाई पुनः अग्रता दिलाए ।
त्यसपछि ६५ औं र ७० औं मिनेटमा टोरेसले गोल गर्दै टिमलाई चार एकको स्थितीमा पुर्याए । उनले एक गोल पेनाल्टीमार्फत गरेका थिए । ८५ औं मिनेटमा एन्टोनी ग्रिजमनले गोल गर्दै एथ्लेटिकोलाई ५–१ को जित दिलाए ।