२३ भाद्र २०८१, आइतबार

८० वर्षमा पौडीपोखरी फर्किएका कोरोनोस, जसले बनाए ९९ वर्षमा विश्वकीर्तिमान


Title_Swimming

एजेन्सी, १८ काठमाण्डौ । मानिसले जवानी बितिसकेपछि बुढ्यौलीमा के गर्छ ? परिवारसँग रमाइलो गर्ने, फूर्सदको समय बिताउने, सुतेरै बस्ने, पढ्ने, आनन्दित वा चिन्तित हुने, विकल्प अनेक हुन सक्छन् । उमेरसँगै विकल्पहरु साँघुरिदैँ जानेछन् । कसैले आँखा देख्न छाड्छन् । कसैको खुट्टा वा कसैको हात चल्दैन वा कसैलाई अरु नै केही रोगले सताउँछ ।
उमेरसँगै मानिसको स्मरण शक्ति पनि कम हुँदै जान्छ ।

जीवनको अन्तिम क्षणसम्म पनि उत्तिकै उर्जाका साथ सक्रिय रहने व्यक्ति कमै हुन्छन् । त्यस्तै, व्यक्तिमध्ये एक हुन् अस्ट्रेलियाका जर्ज कोरोनोस।ब्रिस्बेनवासी कोरोनेस युवावस्थामा धेरैभन्दा धेरै समय पौडी खेल्थे। तर उनले यस खेललाई निरन्तरता दिन सकेका थिएनन्। तर ८० वर्ष पुगेपछि अर्थात अवकाशप्राप्त जीवनमा उनी फेरि यस खेलसँग जोडिए । अहिले ९९ वर्षको उमेरमा यस खेलमा विश्व कीर्तिमान राखे ।

५० मिटर फ्रिस्टायलमा १ सय वर्षदेखि १ सय ४ वर्ष उमेर समूहमा उनले ५६ दशमलव १२ सेकेन्ड खर्चेर निर्धारित दूरी पार गरेका हुन् । यसअघिको कीर्तिमान बेलायती पौडीवाज जोन ह्यारिसनको नाममा थियो । उनले सन् २०१४ मा १ मिनेट ३१ दशमलव १९ सेकेन्डमा ५० मिटर फ्रिस्टायल पार गर्दै कीर्तिमान बनाएका थिए । ह्यारिसनभन्दा कोरोनोस ३५ सेकेन्ड छिटो देखिए । उनको कीर्तिमानलाई विश्व पौडी महासंघले आधिकारिकता दिन भने बाँकी छ ।

आगामी अप्रिलमा कोरोनेस १ सय वर्ष पुग्नेछन्। ‘यो मेरा लागि अहिलेसम्मकै उदाहरणीय पौडी हो । धेरै व्यालेन्स गरेर खेलेँ। अन्त्यमा मलाई हातले पर्खाल छुन धेरै गाह्रो भइरहेको थियो,’ उनले भनेका छन् । ‘दोस्रो विश्वयुद्धको समयमा मैले यो खेल छाडेको थिएँ । त्यसपछि मैले फेरि पौडीमा पहिलेजस्तै जाँगर चल्छ भन्ने सोचेको थिइँन,’ उनले भने, ‘मैले पछि अभ्यासका लागि यो खेल सुरु गरे।’ उनले बढ्दो उमेरका कारण शरीरिक रुपमा पौडन मुस्किल पर्ने भए पनि आफूले पर्याप्त तयारी गरेको बताए ।

सातामा औसतमा ३ ल्याप्स पौडने गरेको उनले बताए । त्यस्तै, शरीर फिट राख्न जिम समेत गर्ने गरेको अनुभव सुनाए । उनको खेल हेर्नका लागि बुधबार अस्ट्रेलियाको क्विन्सल्यान्डस्थित गोल्ड कोस्टमा ठूलो संख्यामा दर्शकहरु उपस्थित थिए । यो खेल उनले कीर्तिमानका लागि च्यालेन्ज गर्ने भएपछि नै राखिएको थियो । अनि प्रतिस्पर्धी पनि उनी एक्लो थिए ।

‘हामी भर्खरै इतिहास निर्माणको साक्षी बन्यौ,’ अस्ट्रेलियन डल्फिन्स स्विम टिमले उनको कीर्तिमानपछि आफ्नो फेसबुक पेजमा लेखेको छ ।

अब नयाँ चुनौती मास्टर्स स्विमिङ अस्ट्रेलियाका अनुसार अन्तर्राष्ट्रिय पौडी महासंघ (फिना)ले यस कीर्तिमानलाई आधिकारीकता दिन बाँकी छ तर, कोरोनोसलाई भने अर्को कीर्तिमान राख्न हतारो भइसकेको छ । ५० मिटरको फ्रिस्टायलपछि उनले अब १ सय मिटर फ्रिस्टायलमा पुरानो कीर्तिमानलाई च्यालेन्ज गर्दैछन् । शनिबार राति उनी पुरानो कीर्तिमान भंग गर्नका लागि पौडनेछन् ।

१ सय मिटर फ्रिस्टायलमा कीर्तिमान बनाउन पनि कोरोनोसले बेलायती नागरिक ह्यारिसनकै कीर्तिमान तोड्नुपर्ने हुन्छ । ह्यारीसनले ३ मिनेट २३ दशमलव १० सेकेन्डमा उक्त दूरी पार गरेका थिए । ‘म कुनै पनि कोणवाट युवा होइन तर म आगामी दिन हेर्दैछु र आफ्नो लक्ष्य पुरा गर्नेमा विश्वस्त छु,’ कोरोनोसले भनेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !