इरिट्रियाका सैनिकहरु द्वन्द्वग्रस्त टिग्री क्षेत्रबाट फर्कन थालेको इथियोपियाको भनाई Nepalpatra इरिट्रियाका सैनिकहरु द्वन्द्वग्रस्त टिग्री क्षेत्रबाट फर्कन थालेको इथियोपियाको भनाई

१८ श्रावण २०७८, सोमबार

इरिट्रियाका सैनिकहरु द्वन्द्वग्रस्त टिग्री क्षेत्रबाट फर्कन थालेको इथियोपियाको भनाई


इथियोपिया

अदिस अबाबा । इथियोपियाको युद्धग्रस्त टिग्री क्षेत्रबाट इरिट्रियाका सैनिकहरु फिर्ता हुन थालेको इथियोपियाले जनाएको छ । सात औद्योगिक राष्ट्रहरुको समूह (जी७) का सदस्य मुलुकहरुले टिग्रीबाट सैनिक फिर्ता गर्न आग्रह गरेलगत्तै सैनिक फिर्ती शुरु भएको इथियोपियाले जनाएको छ ।

इथियोपियाका प्रधानमन्त्री अबी अहमदले गत साता इरिट्रियाली सैनिकहरु फिर्ता हुने घोषणा गर्नु भएको थियो । इरिट्रियाली सेनाबाट आमहत्या र यौनहिंसाका घटना व्यापक भएको रिपोर्ट सार्वजनिक भएपछि इथियोपियामाथि दबाब सिर्जना भएको थियो ।

टिग्री क्षेत्रका कतिपय शहर र नगर क्षेत्रमा हालैका दिनमा इरिट्रियाली सेनाले गस्ती एवं कारबाही गरेका विवरण सार्वजनिक भएका थिए । जी७ का तर्फबाट शुक्रबार जारी विज्ञप्तिमा इरिट्रियाली सेनाको तत्काल, निःशर्त बहिर्गमन हुनुपर्ने उल्लेख थियो ।

जी७ को विज्ञप्तिमाथि प्रतिक्रिया दिँदै इथियोपियाको विदेश मन्त्रालयले इरिट्रियाली सेना सम्बन्धी प्रक्रिया अघि बढिसकेको स्पष्ट गरेको छ ।

विज्ञप्तिमा टिपीएलएफका कारण सीमा पार गरेर इथियोपियाको टिग्री क्षेत्रमा प्रवेश गरेका इरिट्रियाली सेनाहरु फर्कन थालेको उल्लेख छ । विज्ञप्तिमा इथियोपियाका सेना सीमा क्षेत्रको सुरक्षामा खटिन थालेको पनि जनाइएको छ ।

टिग्री क्षेत्रको सत्तारुढ पार्टी टिग्री पिपुल्स लिबरेसन फ्रन्ट (टिपिएलएफ) को इथियोपियाको राजनीतिमा झण्डै तीन दशकसम्म निकै ठूलो प्रभाव थियो । तर सन् २०१८ मा प्रधानमन्त्री अबियले चुनाव जितेपछि टिपिएलएफको प्रभाव कमजोर बन्दै गएको छ ।

प्रधानमन्त्री अबियले गत वर्ष नोभेम्बरमा टिग्रीमा सेना परिचालन गर्नु भएको थियो । टिपिएलएफले इथियोपियाली सेनामाथि आक्रमण गरेको आरोपमा टिग्रीमा सैनिक कारबाही शुरु गरिएको थियो ।

अदिस अबाबा र अस्मारा दुबैले यसअघि टिग्रीमा इरिट्रियाली सैनिकहरु सक्रिय रहेको कुरा अस्वीकार गर्दै आएका थिए । तर मानव अधिकारवादीहरु, स्थानीय वासिन्दा, कुटनीतिज्ञहरु र केही इथियोपियाली नागरिक एवं सैनिक अधिकारीहरुले इरिट्रियाली सेना टिग्रीमा सक्रिय रहेको बताएका थिए ।

टिग्रीका अन्तरिम नेता मुलु नेगाले यसै साता इरिट्रियाली सेनाको फिर्तीको प्रक्रियामा रहेको र तत्काल सम्भव नरहेको बताउनु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !