१३ मंसिर २०८१, बिहीबार

राष्ट्रसंघीय शान्ति कोषमा ४३ करोड ९० लाख डलर, लक्ष्यभन्दा निकै कम योगदान


विदेशी लगानी

राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त मुलुकमा शान्ति कायम गर्नेगरी मद्दतका लागि तीन दर्जनजति मुलुकले ४३ करोड ९० लाख डलर योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ । राष्ट्रसंघले आशा गरेको एक अर्ब ५० करोडको तुलनामा यो रकम निकै कम हो ।

भिडियो कन्फरेन्स मार्फत सदस्य दातृ मुलुकहरुसँगको अन्तक्र्रियामा यस्तो प्रतिबद्धता व्यक्त भएको राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघले जारी गरेको विज्ञप्तिमा सन् २०२० मा प्राप्त भएको रकम समेत ३९ वटा दातृ मुलुकबाट ४३ करोड ९० लाख मात्र प्रतिबद्धता व्यक्त भएको उल्लेख छ ।

शान्ति कोषबाट साहेल, मध्य एसिया, मध्य अमेरिका र बाल्कन क्षेत्र समेतका ५१ मुलुकमा विगत तीन वर्षदेखि शान्ति अभियान सञ्चालन भइरहेका छन् । यी कार्यक्रमका लागि तीन वर्षमा ३५ करोड ६० लाख खर्च भइसकेको छ ।

सन् २००६ मा स्थापित राष्ट्रसंघीय शान्ति निर्माण कोषका प्रमुख मार्क–आन्द्रे फ्रान्चले सन् २०२० देखि २०२४ सम्मका पाँच वर्षका लागि डेढ अर्ब डलर परिचालन गर्ने लक्ष्य राखिएको जानकारी दिनुभयो ।

फ्रान्चका अनुसार ३४ वटा मुलुकले कोषमा रकम दिएका छन् तर त्यसमध्ये ६० प्रतिशतभन्दा बढी रकम जर्मनी, स्वीडेन र बेलायतले उपलब्ध गराएका छन् ।

जर्मन विदेश मन्त्री हेको मासले आगामी दुई वर्षमा जर्मनीले कम्तीमा ६ करोड ८ लाख उपलब्ध गराउने बताउनुभयो ।

राष्ट्रसंघका लागि फ्रान्सेली राजदूत निकोलास डी रिभियेराले आफ्नो मुलुकले ४५ लाख डलर योगदान गर्ने जानकारी गराउनु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !