११ बैशाख २०८१, मंगलबार

पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने संभावना


डोनाल्ड ट्रम्प

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने संभावना देखिएको छ ।

राष्ट्रपतीय निर्वाचनको मत परिणाम अस्वीकार गर्दै आएकाले उहाँ पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुनु हुने भएको स्रोतले जनाएको छ ।

निर्वाचन आयोग र अदालतहरुले समेत निर्वाचनको परिणामलाई प्रश्न उठाउने आधार र प्रमाण नभएको दावी गरे पनि उहाँले भने अस्वीकार गर्दै आउनु भएको छ ।

उहाँले मत परिणामप्रति असन्तुष्टि जनाउँदै हुलाकबाट प्राप्त भएका मतहरु बदर गर्न विभिन्न अदालतमा मुद्दा दायर गर्नु भएको थियो । तर पर्याप्त आधार र वस्तुनिष्ठ प्रमाणको अभाव देखाउँदै उहाँका सबै मुद्दालाई राज्यस्तरका र सर्वोच्च अदालतले समेत अस्वीकार गरिसकेका छन् ।

अमेरिकामा हरेक चार वर्षको नोभेम्बरमा राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि निर्वाचन हुने र जनवरी २० तारिखका दिन पद हस्तान्तरण हुने व्यवस्था रहेको छ ।

सोही व्यवस्था अनुसार यस पटक भएको निर्वाचनमा बहालवाला राष्ट्रपति तथा रिपब्लीकन उम्मेदवार ट्रम्पलाई पराजित गर्दै डेमोक्र्याट तर्फका उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडेन राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।

राष्ट्रपति कार्यालयका एक जना सल्लाहकारलाई उद्धृत गर्दै स्रोतले जनाएअनुसार जनवरी २० मा हुने पद हस्तान्तरण कार्यक्रममा ट्रम्प सहभागी नहुने मनस्थितिमा पुग्नु भएको छ ।

उहाँले दोस्रो कार्यकालका लागि पनि आफूले नै जितेको तर धाँधली गरेर आफूलाई हराइएको दावी गर्दै आउनुभएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !