६ पुस २०८१, शनिबार

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा बाइडेनको ‘जित’ संकेत गर्ने शब्दको पहिलो पटक प्रयोग


अमेरिकी राष्ट्रपतीय चुनाव : बाइडेन जित नजिक, ट्रम्प अदालतको शरणमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धी जो बाइडेनले औपचारिक रूपमा निर्वाचन जितेको आशय पहिलो पटक प्रकट गर्नुभएको छ । निर्वाचनको नतिजा सार्वजनिक भएर बाइडेन निर्वाचित भएको सर्वत्र स्वीकार्दा समेत जितलाई अस्वीकार गर्दै आउनुभएका ट्रम्पले आइतबार सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो आशय प्रकट गर्नु भएको हो ।

उहाँले निर्वाचनमा धाँधली भएकाले बाइडेनले जितेको भनिएको आशय व्यक्त गर्दै आफ्नो दावीबाट भने आफु पछाडि नहटेको उल्लेख गर्नुभएको छ । बाइडेनको नाम उल्लेख नगरी उहाँले “उहाँले जितेको” भन्ने शब्दावलीको प्रयोग गर्नुभएको छ ।

उहाँको यो लेखाइलाई बाइडेनको जितलाई स्वीकार्नु पर्ने बाध्यतालाई ट्रम्पले महसुस गरेको रुपमा बुझिएको छ । उहाँले लेख्नुभएको छ, “उहाँले झुट सञ्चार माध्यमको आँखामा मात्रै जित हासिल गरेको हो, निर्वाचनमा धाँधली भएको छ, अत्यमा हामीले नै जित्ने मलाई विश्वास छ, हामी धेरै टाढा जानुछ ।”

उहाँले राष्ट्रपतीय निर्वाचनमा आफूले हारेको नमान्ने दोहो¥याउनु भएको छ । जबकि गत शुक्रवार पनि निर्वाचन आयोगका अधिकारीहरूले अमेरिकी इतिहासमै सुरक्षित निर्वाचन भएको र कुनै मत मेटिएको वा हराएको वा परिवर्तन भएको वा अन्य कुनै गडबड भएको प्रमाण नभेटिएको बताएका थिए ।

ट्रम्पले केही राज्यहरूमा भएको निर्वाचनमा धाँधली भएको भनेर केही ठाउँमा निवेदन पनि गर्नुभएको थियो । ती उजुरीहरुमा पर्याप्त प्रमाणहरु नपुगेको भन्दै न्यायाधीशहरूले उजुरी खारेज गरिदिएका थिए । तर पनि उहाँले धाँधली भएको भन्न छाड्नुभएको छैन ।

निर्वाचन आयोगका अनुसार कुल २७० इलेक्टोरल मत प्राप्त गरेमा विजयी हुनेमा ३०६ इलेक्टलर कलेज मत प्राप्त गरेर बाइडेन राष्ट्रपतिमा निर्वाचित भइसक्नुभएको छ । आवश्यकताभन्दा अत्यधिक धेरै मत प्राप्त गरेकाले ट्रम्पको माग अनुसार मतगणना गरेपनि नतिजा उल्टिने संभावना नरहेको निर्वाचन अधिकारीहरुको भनाइ छ ।

मत सङ्ख्याका आधारमा पनि ट्रम्पले भन्दा बाइडनले ५० लाखभन्दा बढी मत प्राप्त गर्नु भएको छ । निर्वाचित हुन आवश्यक सवै प्रक्रिया र प्रमाणहरु पुरा हुँदा पनि बाइडेनको जितलाई ट्रम्पले नस्वीकार्दा अमेरिकी राजनीतिमा केही त्रास र आशंका भने अझै पनि कायमै रहेको छ ।

अमेरिकामा हरेक चार चार बर्षमा राष्ट्रपति चयनका लागि नोभेम्बर महिनामा निर्वाचन हुने र त्यसपछि आउने जनवरी २० तारिखका दिन नयाँ नेतृत्व ह्वाइट हाउस प्रवेश गराउने व्यवस्था रहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !