७ मंसिर २०८१, शुक्रबार

अमेरिकी चुनाव : मिचिगन, विस्कन्सिनमा बाइडेन विजयी


जो बाइडेन

वासिङटन, २० कात्तिक । अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फका प्रत्यासी जो बाइडेनले मिचिगन र विस्कन्सिन राज्यमा विजय हासिल गर्नु भएको छ । डेमोक्रेट पार्टीको वर्चश्व रहँदै आएका यी दुबै राज्यमा चार वर्षअघि राष्ट्रपति ट्रम्प विजयी हुनु भएको थियो ।

मिचिगन र विक्सन्सिन राज्यमा बाइडेनलाई सफलता प्राप्त भएसँगै राष्ट्रपति ट्रम्पलाई पुनः राष्ट्रपतिमा विजयी हुन कठिन हुँदै गएको छ ।अमेरिकामा गत मंगलबार चुनाव भएको थियो । मंगलबार राति र बुधबार दिनभर मतगणना हुँदा पनि राष्ट्रपतिमा चयन हुनका लागि आवश्यक २७० इलेक्टोरल कलेज (निर्वाचक प्रतिनिधि) दुबै उम्मेदवारले प्राप्त गर्न सकेका छैनन् ।

पछिल्लो मत परिणाम अनुसार बाइडेनले २६४ इलेक्टोरल मत प्राप्त गर्नु भएको छ र उहाँ विजयको नजिक हुनुहुन्छ । बाइडेनले सात करोड १० लाखभन्दा बढी मत प्राप्त गरिसक्नु भएको छ । अमेरिकी इतिहासमा राष्ट्रपतिका कुनै पनि उम्मेदवारले प्राप्त गरेको यो सबैभन्दा बढी मत हो ।

पछिल्लो चुनावी अवस्थाका बारेमा उपराष्ट्रपतिकी उम्मेदवार कमला ह्यारिससँगै ब्रिफिङ दिँदै बाइडेनले आफू अमेरिकी राष्ट्रपति पदमा विजयी हुने अन्तिम अवस्थामा पुगेको बताउनुभयो । तर उहाँले आफू विजयी भएको घोषणा गर्न चाहनु भएन ।

उहाँले भन्नुभयो, “म अमेरिकी राष्ट्रपति हुँदैछु । मैले विजय प्राप्त गरेपछि रातो वा निलो रङका आधारमा कुनै राज्यमाथि भेदभाव हुने छैन । मेरो ध्यान केबल संयुक्तराज्य अमेरिका हुनेछ ।”

राष्ट्रपति ट्रम्पले भने आफूले चुनावमा विजय हासिल गरिसकेको दाबी गर्नु भएको थियो जसलाई स्वयं रिपब्लीकन पार्टीका नेताहरुले हतारको घोषणा भन्दै आलोचना गरेका थिए ।

विस्कन्सिन र मिचिगनमा विजय प्राप्त गरेसँगै बाइडेनलाई राष्ट्रपतिमा निर्वाचित हुन ६ इलेक्टोरल भोट मात्र आवश्यक रहेको छ । निर्वाचनको मिश्रित नतिजा आइरहेको अवस्थामा राष्ट्रपति ट्रम्पले बुधबार ह्वाइट हाउसमै बिताउनु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !