२३ भाद्र २०८१, आइतबार

अमेरिको ह्वाइट हाउस अघिल्तिर गोली चल्यो, ट्रम्प एकछिन रोके पत्रकार सम्मेलन


ह्वाइट हाउस

वासिङ्टन, २७ साउन । ह्वाइट हाउसको बाहिर एक व्यक्तिसँग विवाद भएसँगै अमेरिकी गुप्तचर सेवाका एक अधिकृतले ती व्यक्तिमाथि सोमबार गोली चलाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टेलिभिजनबाट पत्रकार सम्मेलन गरिरहेको समयमा उक्त घटना भएको थियो । अधिकारीहरुले पत्रकार सम्मेलनकै बीचमा राष्ट्रपति ट्रम्पलाई घटनाका बारेमा जानकारी गराएका थिए ।

अमेरिकी गुप्तचर सेवाका प्रमुख टम सुलिभानले ह्वाइट हाउस परिसर सुरक्षित रहेको र कसैबाट खतरा नरहेको बताउनुभयो । सुलिभानले गोली लागेका व्यक्तिले आफूसँग हतियार रहेको दाबी गरेको बताउनुभएको छ । नाम थर नखुलाइएका ती ५१ वर्षीय पुरुषले गुप्तचर सेवाका अधिकृतमाथि एक्कासी जाइलागेको पनि सुलिभानले बताउनुभयो ।

कानुन कार्यान्वयन अधिकारीहरुले ती व्यक्तिको उद्देश्य पहिल्याउने प्रयास गरिरहेका छन् । राष्ट्रपति ट्रम्पले कोरोनाभाइरससँग सम्बन्धित विवरण सार्वजनिक गर्नै लाग्दा अमेरिकी सिक्रेट सर्भिसका एजेन्टले ट्रम्पलाई ब्रिफिङ कक्षबाट भित्र लगेका थिए । राष्ट्रपति ट्रम्प ९ मिनेटपछि पुनः ब्रिफिङ कक्षमा प्रवेश गर्नु भएको थियो । उहाँले ह्वाइट हाउस बाहिर गोली चलेको र त्यो नियन्त्रणमा आइसकेको जानकारी दिनुभएको थियो ।

ट्रम्पले भन्नुभयो, “त्यहाँ साँच्चिकै गोली चलेको र एक व्यक्तिलाई अस्पताल लगिएको छ ।” ट्रम्पले एजेन्टले आफूलाई ओभल अफिसमा लगेको जानकारी पनि दिनुभयो । उक्त घटनापछि ह्वाइट हाउसलाई लकडाउन गरिएको थियो । सोमबार साँझ सुलिभानले जारी गरेको एक वक्तव्यमा गोलीकाण्ड स्थानीय समयअनुसार साँझ ६ बजे भएको उल्लेख छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !