सुर्खेत, २४ वैशाख । यही वैशाख १७ गते सुर्खेतको लेकबेँसी नगरपालिकाले जीवनज्योति मावि दशरथपुरमा सञ्चालित क्वारेन्टाइनमा राखिएका आठ जनालाई कोरोना परीक्षणबिनै घर पठाइएको छ । नगरपालिकासँग भाइरल ट्रान्सफर्म मिडियम (भिटीएम) तथा स्वाब परीक्षण गर्ने प्रोसेसिङ किट नहुँदा १४ दिन क्वारेन्टाइन बसेकाहरुलाई अन्ततः परीक्षणबिनै घर फर्काएको हो । नगरपालिकाले परीक्षणबिनै घर पठाएपछि उनीहरुले आपत्ति जनाएका छन् ।
आरडिटी परीक्षणका लागि नगरपालिकासँग पर्याप्त किट थिएन । नगर स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी कर्ण आचार्यका अनुसार किट अभावले आठमध्ये दुई जनाको मात्र परीक्षण गरियो । ती दुईको नतिजा नेगेटिभ आएपछि नगरपालिकाले बाँकी छ जनालाई पनि कुनै सम्भावित सङ्क्रमण नदेखिएको अनुमानका भरमा क्वारेन्टाइनबाट बिदाइ ग¥यो । जसले थप जोखिम निम्त्याउन सक्ने चिन्ता गरिएको छ ।
स्वास्थ्यकर्मी आचार्यले किट आएपछि परीक्षण गर्ने शर्तमा घर पठाइएको बताउनुभयो । सोही दिन सुर्खेतकै भेरीगङ्गा नगरपालिकाले पनि नौ जनालाई त्यसैगरी घर पठायो । नगर स्वास्थ्य संयोजक राजेश बुढाले सिन्धुपाल्चोकबाट आएका नौमध्ये एक जनाको मात्रै आरडिटी परीक्षण गरिएको बताउनुभयो । “किट अभावका कारण एक जनाको मात्र जाँच गरेर घर पठाउनुप¥यो, जिल्ला स्वास्थ्य र प्रदेश सरकारसँग आग्रह गर्दासमेत पाइएन”, उहाँले भन्नुभयो, “किटकै पर्खाइमा क्वारेन्टाइन अवधि पूरा भएकालाई समेत घर पठाउन सकेका छैनौँ ।”
आरडिटी किट अभावका कारण सुर्खेतमा एक सातादेखि कोरोना परीक्षण हुनसकेको छैन । तत्काल किट आउने सम्भावना नभएपछि क्वारेन्टाइनमा बसेकाहरुको सामूहिक नमूना परीक्षण गरेर घर पठाउनुपर्ने बाध्यता भएको स्वास्थ्यकर्मीको भनाइ छ । प्रदेश स्वास्थ्य निर्देशनालयले किट नआउँदासम्म ‘गु्रप टेष्ट’ गर्नुको विकल्प नभएको जनाएको छ ।