८ पुस २०८१, सोमबार

कोभिड-१९ः स्थानीय तहको नयाँ रणनीति


कोरोना भाइरस

बैतडी, ९ वैशाख । कोरोना भाइरस सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि बैतडीका स्थानीय तहले नयाँ रणनीति अघि सारेको छ ।

जिल्लाको पाटन नगरपालिका र डिलाशैनी गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि खटिएका कर्मचारीको मृत्यु भएमा उसका आश्रित परिवारलाई रु १० लाख क्षतिपूर्ति दिने निर्णय गरेका छन् । डिलाशैनी गाउँपालिकाले यो भाइरसबाट सङ्क्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई शतप्रतिशत र सहयोगीलाई २५ प्रतिशत थप भत्ता दिने निर्णय गरेको सो गाउँपालिकाले जनाएको छ ।

यसैगरी जिल्लाको पुर्चौंडी नगरपालिकाले विकास बजेट बाहेकको सबै बजेट कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि खर्च गर्ने निर्णय गरेको छ । त्यस्तै सुर्नया गाउँपालिका र पाटन नगरपालिकाले जारी लकडाउनका कारण समस्यामा परेका नागरिकको सहजताका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएका छन् । पैसा नलाग्ने सो नम्बरमा फोन गरेर लकडाउनका कारण परेका समस्या, कोरोना भाइरस सम्बन्धि जानकारी र अन्य समस्या राख्न सक्ने बताइएको छ ।
सबै स्थानीय तहमा राहत कोष

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि बैतडीका सबै स्थानीय तहमा राहत कोष स्थापना गरिएको छ । बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरी १० स्थानीय तह रहेका छन् ।

दशरथचन्द नगरपालिकाले विपद् व्यवस्थापन कोष अन्तर्गत नै रहने गरी राहत कोष खडा गरेको नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिनुभयो । सो कोषमा नगरपालिकाले विभिन्न शीर्षकबाट बजेट रकमान्तर गरेर रु १३ लाख रकम जम्मा गरेको छ भने कञ्चन डेभलपमेन्ट बैंकले प्रदान गरेको रु ३५ हजार पनि त्यसै कोषमा जम्मा गरेको छ ।

सुर्नया गाउँपालिकाले रु २० लाखको राहत कोष स्थापना गरेको गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टले जानकारी दिनुभयो । पाटन नगरपालिकाले पनि कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि रु २० लाख रकम विनियोजन गरेको छ । त्यस्तै, दोगडाकेदार गाउँपालिकाले रु २९ लाख, शिवनाथ गाउँपालिकाले रु १० लाख, मेलौली नगरपालिकाले रु १० लाख, सिगास गाउँपालिकाले रु १२ लाख, डिलाशैनी गाउँपालिकाले रु ५० र पञ्चेश्वर गाउँपालिकाले रु १० लाखको राहत कोष स्थापना गरेको सम्बन्धित स्थानीय तहले जनाएको छ । यसैगरी पुर्चौंडी नगरपालिकाले पनि कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विपद् व्यवस्थापन कोषबाट रकम खर्च गर्ने गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताउनुभयो ।

लकडाउनबाट अति प्रभावित गरिब, विपन्न तथा मजदूरहरुलाई राहत वितरण गर्ने प्रक्रियालाई थप व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने माग स्थानीयवासीको छ । जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले राहत वितरण गर्ने कार्यमा विभिन्न समस्या र चुनौती देखिएकाले यसतर्फ स्थानीय तह अत्यन्त गम्भीर हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।
अलपत्र मजदूरको उद्धार

अलपत्र अवस्थामा रहेका ६ जना मजदूरलाई बैतडीको दोगडाकेदार गाउँपालिकाले उद्धार गरेको छ । उद्धार गरिएको मजदूरमा मुगुको खतेड गाउँपालिकाका तीन, कैलालीको टिकापुर नगरपालिकाका दुई र दोगडाकेदारका एक जना रहेका छन् । उनीहरु सिमावर्ती भारतीय क्षेत्रबाट नेपाल प्रवेश गरेका थिए । महाकाली नदीमा ट्युबमार्फत नेपाल प्रवेश गरेका उनीहरुलाई सोमबार राती उद्धार गरी सनातन धर्म मावि श्रीकोटको क्वारेन्टाइनमा राखिएको दोगडाकेदार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिनुभयो । उनीहरु दार्चुलास्थित लेकम गाउँपालिकाको लालीबाट नेपाल भित्रिएको बताइएको छ ।

लकडाउनलाई थप प्रभावकारी बनाउन सरकारले नेपाल भारत सीमा बन्द गरेर सीमाक्षेत्रमा सशस्त्र प्रहरी परिचालन गरिएको भएपनि अबैध रुपमा नेपाल भित्रने क्रम रोकिएको छैन् । लेकम हुदैं धनथलामा अलपत्र परेका ती मजदूरहरुलाई स्थानीयवासी शेर कार्कीको पहलमा दोगडाकेदार गाउँपालिकाको क्वारेनटाइनमा राखिएको हो ।

दोगडाकेदार गाउँपालिकाले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । गाउँपालिकाको सिल्लेगडा र पन्ज्युनयाँमा हेल्थडेस्क पनि स्थापना गरेको छ ।

अलपत्र परेका नेपाली स्वदेश भित्रिन थाले
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले सीमा बन्द गरेपछि भारतीय क्षेत्रमा अलपत्र परेका नेपालीहरु महाकाली तरेर स्वदेश भित्रिन थालेका छन् ।

दार्चुलाको महाकाली नगरपालिका—५ खेट्टयाबगर क्षेत्रबाट चार जना नेपाली घर फर्किएका छन् । धार्चुलाको कालीका क्षेत्रमा मजदूरी गर्न गएका नौगाड गाउँपालिका—४ का पूर्णसिंह धामी, दलबीर धामी, ललित धामी र वडा नम्बर ५ का राजेन्द्रसिह धामी महाकाली तरेर नेपाल प्रवेश गरेको महाकाली नगरपालिका विपद् शाखा संयोजक भुवन जोशीले जानकारी दिनुभयो । खेट्याबगरमा महाकाली तरेर आएका चारै जनालाई महाकाली नगरपालिका—६ पौनेखोलाबाट ल्याएर महेन्द्र नमूना मावि खलंगाको क्वारेन्टाइनमा राखिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !