१५ असार २०८१, शनिबार

पुल र बाटोमा बारः गाउँले चौकीदार


गलेश्वर, ४ वैशाख । कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण रोकथामका लागि सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी)लाई बेवास्ता गरी आवतजावत गर्ने मानिसहरुलाई लक्षित गर्दै म्याग्दीका स्थानीय तहले बाटा र पुलहरुमा बार लगाएर सुरक्षित हुने उपाय अपनाएका छन् ।

आवतजावतलाई रोक्ने र अटेर गर्नेलाई प्रहरीको जिम्मा लगाउन स्थानीयवासीले बाटा र पुलहरुमा बार लगाएर पालैपालो गरी चौकीदारी समेत गरेका छन् । म्याग्दीका बेनी नगरपालिकासहित मालिका, धौलागिरि, अन्नपूर्ण, रघुगङ्गा र मङ्गला गरी ६ वटै स्थानीय तहका युवा, आमा समूह र जनप्रतिनिधिको सक्रियतामा आवतजावत बढी हुने बाटो र पुलमा बार लगाइनुका साथै आलोपालो गरी चौकीदारी गर्न थालिएका हुन् ।

बाहिरबाट आउने नयाँ मान्छेसँगै सङ्क्रमण पनि भित्रिन सक्ने भन्दै यहाँका स्थानीयवासीले बाहिरका मानिसलाई बस्तीमा प्रवेश निषेध गरेका छन् । यसका लागि उनीहरुले आलोपालो गरी चौकीदारी गरेर बस्तीमा निगरानी गर्न थालेका छन् । बागलुङ, पर्वत, मुस्ताङ र रुकुमसँग सिमाना जोडिएको म्याग्दीमा एक जिल्लाबाट अर्को जिल्ला तथा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा जाने आउने क्रममा वृद्धि भएपछि बाध्य भएर यस्तो उपाय अपनाउनु परेको स्थानीयवासीको भनाइ छ ।

म्याग्दीको सदरमुकाम बेनीबजारसँगै सिमाना जोडिएको बेनी नगरपालिका—२ बगरफाँटमा बेनीलगायत अन्य ठाउँबाट मानिसहरु आउने क्रम बढेपछि बगरफाँटको रिभरसाइड युवा क्लवको पहलमा म्याग्दी नदीमाथिका तीनवटा पुल र पदमार्गमा बार लगाएर आउन जान नमिल्ने गरी बाटो छेकिएको क्लवका अध्यक्ष इन्द्रबहादुर जिसीले जानकारी दिनुभयो ।

मङ्गलाघाटको पाती चढाउनेको पदमार्ग, बुद्ध एकेडेमी नजिकको म्याग्दी नदीमाथिको झोलुङ्गे पुल, डम्मरा बगरफाँट जोड्ने झोलुङ्गे पुल तथा चुत्रेनी र दुधेखोला जोड्ने झोलुङ्गे पुलमा बार लगाएर आवतजावतमा रोक लगाउनुका साथै निगरानीका लागि पालैपालो गरेर चौकीदारी गर्ने गरिएको अध्यक्ष जिसीले बताउनुभयो ।

त्यसैगरी म्याग्दीको दोस्रो ठूलो व्यापारिक केन्द्र दरबाङ बजार प्रवेश गर्ने मूल सडकमा नै जनप्रतिनिधिको रोहबरमा स्थानीयवासीले भोटेताल्चा लगाएका छन् । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमणको जोखिमबाट जोगिन मालिका गाउँपालिका–६ छ्यारछ्यारेमा सडकमा नै ताल्चा लगाएर स्थानीयवासीले आवतजावतमा रोक लगाएका हुन् । आपतकालिन बाहेक आवतजावत बन्द गरिएको मालिका गाउँपालिका वडा नं ६ दरबाङका वडा अध्यक्ष सन्तनाथ सुबेदीले बताउनुभयो । लुकिछिपी आवतजावत बढेपछि म्याग्दीको दोस्रो व्यापारिक केन्द्र दरबाङबजार नजिकै छ्यारछ्यारेमा फलामे बार राखेर ताल्चा लगाइएको उहाँले जानकारी दिनुभयो ।

पश्चिम म्याग्दीको मालिका र धौवलागिरी गाउँपालिकासँगै छिमेकी बागलुङ र रुकुम जिल्लाबाट आवतजावत नरोकिएपछि आसन्न खतराबाट बच्न सडकमा नै ताल्चा लगाएर बन्द गर्नुपरेको अध्यक्ष सुवेदीको भनाइ छ । मालिकासँगै बागलुङको तमान, लाम्मेला र रुकुमबाट समेत मान्छेहरु आउन थालेकाले बाध्य भएर सडकमा कडाइ गर्नुपरेको उहाँले बताउनुभयो ।

वडाअध्यक्ष सुवेदीका अनुसार एक गाउँबाट अर्काे गाउँ जान–आउन समेत अवरोधलाई थप कडाई गर्ने गरी प्रहरीसहित ६ जना युवालाई खटाइएको छ । छिमेकी जिल्लाहरुका कारण दरबाङ समेत जोखिममा परेपछि स्थानीयवासीले बिरामी र अति आवश्यक परेकालाई सहज हुने गरी वडा अध्यक्ष सुवेदी, इलाका प्रहरी कार्यालय र लायन्स क्लव अफ दरबाङका पूर्वअध्यक्ष हिरा पुनलाई चावी दिइएको छ ।

त्यसैगरी बेनी नगरपालिका १ रत्नेचौरमा पनि बागलुङ र छिमेकी वडा बेनपा २ ज्यामरुककोट आउजाउ गर्ने सडकमा छेकवार लगाइनुका साथै स्थानीयवासीले पालैपालो गरी चौकीदारी गर्ने गरेका बेनी नगरपालिका १ का युवा मोहन महतले बताउनुभयो । रत्नेचौरसंग सिमाना जोडिएको बागलुङको कुडुलेकी एक युवतीमा कोभिड १९ को सङ्क्रमण देखिएको र हाल ती युवती धौलागिरि अस्पताल बागलुङमा उपचाररत रहेकीले सङ्क्रमण फैलिने डरले सडकमा नै बार लगाई निगरानी गर्नु परेको स्थानीवासीको भनाइ छ । यहाँका स्थानीयवासीले बस्तीमा नयाँ व्यक्तिको प्रवेश रोक्न पालैपालो आफैले निगरानी र गस्ती गर्दै आएका छन् । कोरोनाको सङ्क्रमण भित्रिन नदिन चौकीदारी नै गरेर उनीहरुले सर्तकता अपनाएका हुन् ।

यस्तै बेनी नगरपालिका, मङ्गला र रघुगङ्गाको सिमानामा अवस्थित म्याग्दीको पर्यटकीय स्थल टोड्केमा पनि लकडाउनका समयमा मानिसहरु आउनेजाने क्रम बढेपछि पूर्णगाउँको लाल युवा क्लवको पहलमा सडकमा बार लगाएर आवतजावतमा रोक लगाइएको स्थानीयवासी मोहन केसीले जानकारी दिनुभयो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !