११ आश्विन २०८१, शुक्रबार

आगलागी हुँदा कार्यालय सहयोगी जलेर घाइते


आगलागी

डोटी, २८ फागुन । जोरायल गाउँपालिकास्थित कृषि शाखा उपकेन्द्रमा आगलागी हुँदा कार्यालय सहयोगी बलबहादुर खड्का जलेर गम्भिर घाइते भएका छन् ।

आज बिहान करिब ४ बजेतिर भएको आगलागीमा कार्यालयमा बस्दै आएका ४५ वर्षीय खड्का जलेर गम्भिर घाइते भएका हुन् । घाइते खड्कालाई उपचारका लागि कैलालीतर्फ लैजाने तयारी भइरहेको डोटीका प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि शाखा उपकेन्द्रमा आगलागी हुँदा कार्यालय सहयोगी बलबहादुर खड्का जलेर गम्भिर घाइते भएको खबर आएको छ, आगलागीको बारे बुझ्न प्रहरी टोली खटिएको छ, बिस्तृत खबर आउन बाँकी छ ।”

आगलागीबाट कार्यालयको एउटा कोठा जलेर नष्ट भएको बताइएको छ । स्थानीयवासी, कर्मचारी, इलाका प्रहरी कार्यालय जोरायलबाट खटिएको टोलीले आज बिहान ५ बजेतिर मात्रै आगलागी नियन्त्रणमा लिएको स्थानीयवासी लोकेन्द्रबहादुर छेडालले जानकारी दिनुभयो । कार्यालयमा के कसरी आगलागी भयो भन्नेबारै यकिन खबर नआए पनि विद्युत् सर्ट भएर हुनसक्ने अनुमान स्थानीयवासीको छ । आगलागीका कारण कम्तीमा पनि ८/१० लाख मूल्य बराबरको क्षति भएको हुन सक्ने प्रहरीको अनुमान छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !