८ जेष्ठ २०८१, मंगलबार

बृहत पोखरा सफाई अभियान फेवातालमा सम्पन्न


भाद्र १७ , पोखरा |पोखरामा जारी बृहत सफाई अभियानको ६६औं श्रृंखला ड्यामसाईडस्थित फेवाताल किनारमा उल्लेख्य सहभागिता सहित सम्पन्न भएको छ ।

हप्तामा एक घण्टा राष्ट्रका लागि स्वयंसेवा भन्ने नाराका साथ संचालित यस पटकको सफाई अभियानमा झण्डै १७ टन फोहोर मैला संकलन गरिएको ड्यामसाईड क्लबका अध्यक्ष पदमबहादुर ढकालले जानकारी दिए ।

कार्यक्रममा प्रदेश नं. ४ का प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक कमलसिंह बमले राष्टिय गान बजाएर शुभारम्भ गरेका थिए भने पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष सुन्दरकुमार श्रेष्ठले सरसफाई र राष्ट्रिय भावनाको सपथ गराएका थिए ।

यसअघि प्रहरी अतिरिक्त महानिरिक्षक कमलसिंह बम र पश्चिम क्षेत्रिय सशस्त्र प्रहरी गण पोखराका गणपति नवलप्रसाद उपाध्यायलाई अभियानका तर्फबाट पोखरामा स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरिएको थियो ।

यस पटकको सफाई अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मुक्तिनाथ बिकास बैंक, ओम डेभलपमेन्ट बैंक, हाम्रो क्रिउ स्काउट, फेवा डुंगा व्यवसायी समिति, वडा नं. ५, ६, ७ र १७ का जनप्रतिनिधिहरु, पोखरा लेखनाथ महानगरपालिका कार्यालय, पार्दी मावि, स्थानिय आमा समूहहरु, विभिन्न सामाजिक संघसंस्थाहरु लगाएत सामाजिक अभियन्ताहरुले ऐक्यबद्धता जनाएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले जानकारी दिए ।

कार्यक्रममा ड्यामसाईड टोल विकास संस्थाकी सचिव शोभा श्रेष्ठले उपस्थित सहभागिहरुलाई धन्यवाद ज्ञापन गरेकी थिइन् |
आगामी हप्ताको सफाई कार्यक्रम वडा नं. ६ र ७ जोड्ने बुलौदीखोला पुलबाट हुने जनाईएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !