१४ पुस २०८१, आइतबार

महाअभियोगबाट राष्ट्रपति डोनाल्ड ट्रम्प मुक्त


डोनाल्ड ट्रम्प

एजेन्सी, २३ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प महाभियोग प्रक्रियाबाट मुक्त हुनुभएको छ । अमेरिकाको माथिल्लो सदन सिनेटमा बुधबार भएको मतदानपछि राष्ट्रपति ट्रम्पले महाअभियोगबाट मुक्ति पाउनु भएको हो ।

आफ्नो राजनीतिक स्वार्थका लागि विदेशी शक्तिमाथि आफ्ना सम्भावित चुनावी प्रत्यासी जोन बाइडेनविरुद्ध भ्रष्टाचारको छानबिन गर्न दिएको आरोपमा ट्रम्पमाथि महाअभियोगको प्रत्रिया अगाडि बढेको थियो ।

राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदन ‘हाउस अफ् रेप्रिजेन्टेटिभ्स’ बाट भने पारित भएको थियो । हाउस अफ् रेप्रिजेन्टेटिभ्सबाट अर्थात तल्लो सदनबाट महाभियोग प्रक्रियाको सामना गर्ने ट्रम्प तेस्रो अमेरिकी राष्ट्रपति हुनुभएको अमेरिकी सञ्चारमाध्यम बताउँछन् ।

महाअभियोग प्रस्तावमा ट्रम्पले शक्तिको दुरुपयोग गर्नुभएको भन्ने पक्षमा ४८ मत परेको थियो । तर विपक्षमा ५२ मत परेको थियो । त्यस्तै अमेरिकी संसद् अवरुद्ध गरेको आरोपमा पनि पक्षमा ४७ मत र विपक्षमा ५३ मत प्राप्त भएको थियो । एक सय सदस्य रहेको अमेरिकी सिनेटमा रिपब्लिकनको बहुमत रहेको छ ।

अमेरिकी सिनेटमा रिपब्लिकनका ५३, डेमोक्र्याटका ४५ र स्वतन्त्रका २ सदस्य रहेका छन् । राष्ट्रपति विरुद्धको महाभियोग पारित गर्न कम्तीमा पनि ६७ मतको आवश्यकता पर्छ । महाभियोगको हल्लाविरुद्ध अमेरिकी जित भएको दाबी राष्ट्रपति ट्रम्पले गर्नुभएको छ । यस विषयमा उहाँले बिहीबार सम्बोधन गर्ने समाचारमा जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !