मंसिर २४, काठमाडौं । वैदेशिक रोजगारीका लागि दुई वर्ष पहिले कामदार भिसामा कुवेत पुगेका २१ युवा मेनपावर र त्यहाँस्थित नेपाली दूतावासको लापरबाहीका कारण कालोसूचीमा परेर फर्किएका छन् । गएको एक वर्षसम्म कम्पनीले भिसा लगाएर काम लगाएको भए तापनि कम्पनी विगत एक वर्षदेखि बन्द हुँदा उनीहरू बन्धक जस्तै बनेका थिए ।
नेपालबाट कामदार भिसा लिएर गएका उनीहरू कुवेती कम्पनीले कामदारको भिसा नलगाइदिएपछि दूतावास र मेनपावरको सम्पर्कमा आएका थिए । दूतावासले ‘हुँदै छ’ भन्ने र मेनपावरले कल ब्लक गर्ने गरेका कारण उनीहरू भिसा समय सकिएका कारण बन्धक जस्तै भएर बस्नुपरेको थियो ।
कुवेतमा रहेको टेस्टी फुड एन्ड अल रिप रेस्टुरेन्टको कामका लागि भन्दै ग्लोबल राइजिङ प्लेटिमेन्ट मेनपावरमार्फत उनीहरू कुवेत पुगेका थिए । गएको तीन महिना प्रवेशका लागि प्रदान गरिएको भिसाले काम गर्यो, त्यसपछि एक सालको भिसा लगाएको कम्पनीले पुनः भिसा थप गरिदिएन ।
शुरूको तीन महिना समयमै तलब दिएको कम्पनीले त्यसपछि तलब रोक्न थालेपछि कामदार त्रसित बन्दै गएका थिए । अन्ततः उनीहरू बिनातलब नेपाल फर्किए तर कहिलै कुवेत जान नपाउने गरेर । करिब दुई वर्ष कुवेत बिताएका उनीहरूले ८ महिनाको तलबसमेत पाएनन् । यो समाचार आजको नेपाल समाचारपत्रमा भूपराज बस्यालले लेखेका छन् ।