१९ मंसिर, काठमाडौं । नेपालगन्ज विमानस्थलमा जहाजसँग जंगली जनावर बँदेल ठोक्किएको छ । काठमाडौंबाट नेपालगन्ज ल्यान्ड हुँदै गरेको बुद्ध एयरको जहाजसँग बँदेल ठोक्किएको हो । जहाज ल्यान्ड हुने क्रममा पछाडिको चक्कामा बँदेल ठोक्किएको बुद्ध एयरका नेपालगन्ज प्रमुख विनित शाहले बताए ।
जहाजमा ठोक्किएको बँदेलको मृत्यु भएको छ । जहाज र यात्रुलाई कुनै क्षति नभएको शाहले जानकारी दिए । मंगलबार साँझ ६ः२५ बजे बुद्ध एयरको जहाज नेपालगन्जमा ल्यान्ड हुँदै थियो । त्यही बेलामा नजिकको झाडीबाट बँदेल दौडेर रनवेतिर आएपछि जहाजको पछाडिको चक्कामा ठोकिएको थियो ।
नेपालगन्ज विमानस्थलको आसपासमा झाडी बढेको छ । धावन मार्ग छेउमा रहेका झाडीबाट बेलाबेलामा बँदेल, दुम्सी र स्याल देखिने गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।