१८ असार २०८१, मंगलबार

उत्कृष्टलाई त्रिभुवन विश्वविद्यालयमै जागिर


Tribhuvan University Tribhuvan University

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षामा उत्कृष्ट विद्यार्थीलाई दरबन्दीमै रोजगारी दिने भएको छ। अब बर्सेनि दीक्षान्त समारोहमा स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थीले गुनासो गर्ने छैनन्। किनभने प्रत्येक वर्ष विभिन्न विषयमा स्वर्ण पदक तथा नगद पुरस्कार प्राप्त गरेपछि विद्यार्थीको एउटै प्रतिक्रिया हुन्थ्यो, ‘अब हामीले यो पदक भित्तामा झुन्ड्याएर सजाउनेछौं। र, रोजगारीका लागि स्वदेश तथा विदेशमा भौंतारिनेछौं।’

विश्वविद्यालयले अब टपर विद्यार्थी लाई विश्वविद्यालयभित्रै उपप्राध्यापकको रोजगारी दिने र अनुसन्धानमूलक कार्य गराउने नीति ल्याउँदैछ। वैशाख ९ गते बस्ने त्रिवि सभाले सो नीति पास गरी कानुनी मान्यता दिने तयारीसमेत त्रिविले गरेको योजना महाशाखा प्रमुख ऋदिशकुमार पोखरेलले बताए।

विश्वविद्यालयका योजना महाशाखा प्रमुख ऋिदिशकुमार पोखरेलले विश्वविद्यालयले विद्यार्थीको क्षमताको कदर गर्दै विश्वविद्यालय नियममा संसोधन गरी आगामी वर्षदेखि लागू हुने गरी उत्कृष्ट विद्यार्थीलाई सम्मानस्वरुप विश्वविद्यालयमै रोजगारीको व्यवस्था गर्न लागेको जनाए। ‘विश्वविद्यालय हाललाई विश्वविद्यालय अन्तर्गत रहेको ४ संकाय र ५ अध्ययन संस्थामा उत्कृष्ट हुने ९ विद्यार्थीका लागि पहिलो चरणमा रोजगारीको व्यवस्था गर्ने गरी हामीले त्रिवि नियम संसोधन तथा परिमार्जन गर्दैछौं,’ प्रमुख पोखरेलले नागरिकसँग भने, ‘विद्यार्थीले त्रिविबाट प्राप्त गरेको ज्ञान र सीप बर्सेनि विदेशी भूमिमा गएर प्रयोग गर्ने गरेको हामीले पायौं।’

उनले थपे, ‘अब विद्यार्थीले प्राप्त गरेको ज्ञान र सीप हाम्रै राज्यको हरेक क्षेत्रको विकासमा प्रयोग गर्न विश्वविद्यालयमै रोजगारीको व्यवस्था गर्दैछौं।’

विश्वविद्यालयमा हाल दैनिक औसतमा तीन शिक्षक कर्मचारीले अवकाश पाउने गरेको तर त्यसअनुसार पदपूर्ति गर्न नसकेको उनले जनाए। उनका अनुसार त्रिविमा ७ हजार ९ सय ६६ शिक्षक र ७ हजार २ सय ३० कर्मचारी गरी कुल १५ हजार १ सय ९६ शिक्षक कर्मचारी छन्।

विश्वविद्यालयलाई विश्वकै उत्कृष्ट विश्वविद्यालयको सूचीमा पार्न पनि विश्वविद्यालयका विभिन्न संकाय र अध्ययन संस्थानका उत्कृष्ट विद्यार्थीलाई रोजगारी दिन आवश्यक रहेको उनको सुझाव छ। पहिलो चरण प्रवेशमा उपप्राध्यापक पदबाट नियुक्ति दिनुपर्ने प्रावधानको व्यवस्था गरिने उनले बताए।

‘त्रिविको चार संकाय, पाँच अध्यनय संस्थान र ३९ विभाग गरी बर्सेनि करिब ५० विद्यार्थीले टपर उपाधि पउँछन्,’ उनले भने, ‘हालसम्म विश्वविद्यालय ताला लगाउने, ढुंगा हान्ने र जुस खाएकै भरमा शिक्षक भर्ना हुनुले विश्वविद्यालयको शैक्षिक स्तर उकास्न र विश्वस्तरको उत्कृष्ट विश्वविद्यालय बनाउन गाह्रो भएको हो।’

विश्वविद्यालय ऐननियम संसोधन तथा परिमार्जन गर्न विश्वविद्यालयले कानुन संकायका डिन ताराप्रसाद सापकोटाको संयोजकत्वमा विश्वविद्यालयलेसमिति गठन गरेको छ।

विश्वविद्यालयका कानुनी सल्लाहकार एवं समिति सदस्य नारायण खनालले त्रिविका प्राज्ञिकले उत्कृष्ट स्थान हासिल गरेपछि कि त निजामती सेवामा प्रवेश हुन्छन् कि त विदेश जान्छन्। त्यही भएर अगामी वर्षदेखि त्रिविका उत्कृष्ट प्राज्ञिकहरु निजामती सेवाभन्दा पनि त्रिविमै अनुसन्धानका क्षेत्रमा राख्ने उद्देश्यले उत्कृष्ट विद्यार्थीलाई उप्राध्यापकको रोजगारी दिने नीति त्रिविले ल्याउन लागेको उनले बताए।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !