७ आश्विन २०८१, सोमबार

विश्वविद्यालय सुधार्न पदाधिकारीमा दलीय भागबण्डा अन्त्य गर्नुपर्छ


२४ असार, काठमाडौं । अबको एक महिनापछि सातवटा विश्वविद्यालयमा पदाधिकारी रिक्त हुँदैछन् । पदाधिकारी बन्न नेताको घरदेखि पार्टी कार्यालयसम्म कतिपयको दौडधूप सुरु भइसकेको छ ।

विगतमा दलीय भागबण्डाका आधारमा पदाधिकारी बनाइँदा विश्वविद्यालय यतिबेला बेथितिका महल बनेका छन् । विश्वविद्यालयले गुमाउँदै गरेको साख र धमिलो बन्दै गएको छविलाई लिएर यतिबेला सबैको चासो एवं चिन्ताको विषय बन्न पुगेको छ ।

अब पनि पदाधिकारी नियुक्तिमा गम्भीर बन्न सकिएन भने इतिहासले यो भूललाई कहिल्यै क्षमा प्रदान गर्न नसक्ने टिप्पणी शैक्षिक वृत्तमा गरिन थालिएको छ ।

राष्ट्रिय योजना आयोगको शिक्षा हेर्नुहुने सदस्य डा. उषा झाले राजनीतिक दल र नेताप्रति प्रतिबद्ध हुने विश्वविद्यालयका पदाधिकारी अब हामीलाई चाहिएको छैन भन्दै थपे, “विगत दुई दसकदेखि गलत संस्कार हामीले बोक्यौँ । यसले गर्दा विश्वविद्यालयमा विकृति झाँगिँदै गयो, राम्रा विद्यार्थी गुमाउँदै गयौँ । अब यो बेथितिलाई यहीँ पूर्ण्विराम लगाउनु पर्दछ ।”

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयमा आगामी भदौबाट पदाधिकारी रिक्त हुँदैछन् । यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले लेखेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !